काठमाडौं । विभिन्न पाँचबुँदे माग राख्दै लघुवित्त पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा सुरु गरेको सामूहिक आमरण अनशन तेस्रो दिन पनि जारी राखेका छन्।
लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिको नेतृत्वमा पीडितहरू साउन १२ गतेदेखि अनशनमा बसेका हुन्। उनीहरूले सर्वोच्च अदालतको परमादेशअनुसार लघुवित्त पीडितसँग सम्बन्धित तीनबुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।
यस्तै, विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी आचारसंहितामा आधारित वित्तीय प्रणाली लागू गर्न, गरिब, सुकुम्बासी, मजदुर र किसानलाई बिना ब्याज ऋण उपलब्ध गराउन, आवश्यकता र क्षमताका आधारमा काम र दामको व्यवस्था गर्न तथा निजी वित्तीय संस्थाको अन्त्य गरी समाजवादी अर्थव्यवस्था कायम गर्नुपर्ने माग उनीहरूको छ।
संघर्ष समितिले आफ्ना माग पूरा नभएसम्म आन्दोलन र आमरण अनशनलाई निरन्तरता दिने चेतावनी दिएको छ।

