नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी एसिया कपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टोलीका लागि पुरस्कार राशि घोषणा गरेका हुन् ।
नेपालले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले हराउँदै दोस्रोपटक एकदिवसीय एसिया कपमा स्थान बनाएको थियो ।
एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि रहेको अध्यक्ष चन्दले बताए । उनले सरकारले पनि टोलीका लागि पुरस्कार घोषणा गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष चन्दले देशको अर्थतन्त्र र खेलकुद क्षेत्रलाई चलायमान बनाउन एनपीएलले ठूलो टेवा पुर्याएको पनि बताए । कठिन परिस्थितिमा पनि सबै निकायबीच समन्वय गरेर प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो ।
एनपीएलको वित्तीय पारदर्शिता र लेखापरीक्षण प्रक्रियामा पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा धेरै सुधार भएको पनि अध्यक्ष चन्दले उल्लेख गरे ।

