काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को प्रक्षेपणअनुसार भारत सन् २०२७ मा जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने भएको छ । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४५ खर्ब २० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यससँगै जापान विश्वका ठूला अर्थतन्त्रको सूचीमा छैटौँ स्थानमा झर्ने अपेक्षा गरिएको छ ।
नाममात्रको जीडीपीका आधारमा जापान सन् २०२६ मा विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने अनुमान छ । तर, सन् २०२७ मा भारत र बेलायत दुवैले जापानलाई पछाडि पार्ने आइएमएफको प्रक्षेपण छ । हाल विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका हो भने चीन दोस्रो र जर्मनी तेस्रो स्थानमा छन् ।
विश्वव्यापी आर्थिक चुनौतीका बीच भारतले पछिल्ला वर्षमा उल्लेखनीय आर्थिक वृद्धि हासिल गर्दै आएको छ । आइएमएफले सन् २०२६ का लागि भारतको आर्थिक वृद्धिदरको अनुमान बढाएर सात प्रतिशत पुर्याएको छ । बलियो घरेलु आर्थिक गतिविधि, वित्तीय अनुशासन र पर्याप्त विदेशी मुद्रा सञ्चितिले भारतको अर्थतन्त्रलाई थप मजबुत बनाएको विश्लेषण गरिएको छ ।
एसिया–प्रशान्त क्षेत्रका लागि आइएमएफका निर्देशक कृष्ण श्रीनिवासनले बिहीबार सार्वजनिक क्षेत्रीय आर्थिक दृष्टिकोणमा भारत ऊर्जा मूल्यवृद्धिको प्रभाव सामना गर्न तुलनात्मक रूपमा बलियो अवस्थामा रहेको बताउनुभएको छ । इरानमाथि अमेरिका र इजरायलको युद्धका कारण ऊर्जा बजारमा परेको प्रभावका बाबजुद भारतसँग आर्थिक धक्का सहन सक्ने क्षमता रहेको उहाँको भनाइ छ ।

