शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न सबै राजनीतिक दल, सरकार, सम्बन्धित निकाय तथा सरोकारवाला पक्षलाई आग्रह गरेका छन्।
विस्तृत शान्ति सम्झौता भएको ऐतिहासिक दिन मंसिर ५ गतेका अवसरमा शुक्रबार बिहान शुभकामना सन्देश जारी गर्दै प्रचण्डले शान्ति सम्झौताका प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गरेका हुन्।
दशवर्षे जनयुद्धका नेतृत्वकर्ता प्रचण्डले विशेषगरी द्वन्द्वपीडितलाई न्याय दिलाउने, सत्य निरुपण तथा मेलमिलापको प्रक्रिया टुंग्याउने, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने तथा संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नुपर्ने दायित्व रहेको बताएका छन्।
‘विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र संक्रमणकालीन न्यायका बाँकी कामहरू पूरा गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ,’ उनले सन्देशमा भनेका छन्।
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै पक्षलाई गम्भीरतापूर्वक लाग्न आग्रह गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता साझा राष्ट्रिय प्रतिबद्धता भएको बताएका छन्।
उनले शान्ति सम्झौताको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु कुनै एक पक्षको मात्र नभई सबै राजनीतिक दल, सरकार र राज्यका सम्बन्धित निकायको साझा जिम्मेवारी भएको स्पष्ट पारेका छन्।
स्मरणीय छ, तत्कालीन नेकपा (माओवादी) र नेपाल सरकारबीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। उक्त सम्झौताले १० वर्ष लामो सशस्त्र द्वन्द्व अन्त्य गर्दै मुलुकलाई शान्ति, लोकतन्त्र र राजनीतिक रूपान्तरणको नयाँ प्रक्रियामा अघि बढाएको थियो।

