काठमाडौं, मंसिर ५ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पुग्दा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने भएका छन्।
प्रधानमन्त्री शाह आगामी आइतबार मंसिर ६ गते भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनी दिउँसो १ः४५ बजे नेपाल वायु सेवा निगमको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली जानेछन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका तर्फबाट राज्यमन्त्री प्रसादले उनलाई स्वागत गर्ने कार्यक्रम तय भएको छ।
गत चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो। त्यसैले उनको भारत भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ।
दुईदिने भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, आर्थिक सहकार्य तथा दुई देशबीचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहको यस भ्रमणलाई नयाँ सरकारको विदेश नीतिको प्राथमिकता र नेपाल–भारत सम्बन्धको आगामी दिशासँग जोडेर हेरिएको छ।

