काठमाडौं, कात्तिक ३० ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा गणतन्त्र भारतका लागि नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि राजदूत डा. कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेशकुमार कर्णले शपथ ग्रहण गर्नुभएको हो।
राष्ट्रपति पौडेलले नवनियुक्त तीनै जना राजदूतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।
शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

