काठमाडौं, ३१ असार।
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको कोलम्बोमा जुलाई १६ देखि १८, २०२६ सम्म आयोजना हुने “The Asian Dialogue on Regional Stability and Economic Resilience” अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज श्रीलंका प्रस्थान गर्नुभएको छ।
कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्बली (IPA) को आयोजनामा हुने उक्त सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, चीन, ताइवान, कोरिया, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, इरान, लेबनान, जापान, अस्ट्रेलिया र इन्डोनेसियालगायत एसियाली मुलुकका कम्युनिस्ट, समाजवादी तथा प्रगतिशील राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहनेछ।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा क्षेत्रीय शान्ति, आर्थिक सहकार्य, विश्वव्यापी शक्ति सन्तुलन, साम्राज्यवादका चुनौती तथा समाजवादको भविष्यबारे गहन विमर्श हुने कार्यक्रम रहेको छ।
यस अवसरमा अध्यक्ष प्रचण्डले विश्व कम्युनिस्ट आन्दोलनका अनुभव, चुनौती र सम्भावनाबारे नेपाली दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। साथै विभिन्न देशका वामपन्थी तथा प्रगतिशील नेतृत्वसँग द्विपक्षीय भेटघाट र विचार आदानप्रदान पनि हुने बताइएको छ।
राजनीतिक वृत्तमा यस सम्मेलनलाई एसियाली वामपन्थी तथा समाजवादी शक्तिहरूबीच अन्तर्राष्ट्रिय सहकार्य र वैचारिक एकता सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। सम्मेलनले विश्व कम्युनिस्ट आन्दोलनका सबल पक्षलाई संस्थागत गर्दै समाजवाद निर्माणका साझा रणनीति र अन्तर्राष्ट्रिय वर्गीय सम्बन्धलाई थप प्रगाढ बनाउन सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।

