काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुनुअघि नै कँडेलले पद त्याग गरेका हुन्। सरकार अल्पमतमा परेपछि उनले राजीनामा दिएको बताइएको छ।
कँडेल २०८० चैत २७ गते तत्कालीन नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। केन्द्रमा एमाले–माओवादी गठबन्धन भत्किएपछि त्यसको प्रभाव कर्णाली प्रदेश सरकारमा पनि परेको थियो। त्यसक्रममा माओवादीका मन्त्री सरकारबाट बाहिरिएका थिए भने नेपाली कांग्रेसले सरकारलाई समर्थन गरेको थियो।
पछि २०८१ साउनमा कांग्रेस सरकारमा सहभागी भए पनि पछिल्लो राजनीतिक समीकरण फेरिएसँगै कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए। त्यसपछि कांग्रेसले गत असार ३२ गते मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएको थियो।
अविश्वास प्रस्तावमाथि छलफलका लागि शनिबार प्रदेशसभा बैठक बोलाइएको थियो। यसैबीच केन्द्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नयाँ राजनीतिक समीकरणबारे छलफल चलिरहेका बेला कँडेलको राजीनामा आएको हो।

