काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको नयाँ राजनीतिक सहमतिअनुसार कर्णाली प्रदेशमा नेकपाको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकार गठनसम्बन्धी राष्ट्रिय सहमति भएपछि यसअघि कायम सत्ता समीकरण परिवर्तन हुने भएको हो। यसको प्रत्यक्ष प्रभाव कर्णाली प्रदेशमा परेको छ।
नेपाली कांग्रेसले गत असार ३१ गते कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसको भोलिपल्ट असार ३२ गते कँडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको थियो।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा सरकार गठन गर्ने दाबी गर्दै नेकपाका ११ र कांग्रेसका पाँच गरी १६ प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। सोही प्रस्तावमाथि छलफल गर्न बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले शनिबार पदबाट राजीनामा दिएका थिए।
मुख्यमन्त्रीको राजीनामासँगै कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। सभामुख नन्दा गुरुङले प्रदेशसभाको अर्को बैठक साउन १४ गते बिहीबार दिउँसो ३ बजे बस्ने जानकारी दिएकी छन्।
हाल कर्णाली प्रदेशसभामा नेकपाको संसदीय दलको नेतृत्व मंगलबहादुर शाहीले गरिरहेका छन्। एमाले–नेकपा सहमतिपछि नयाँ सरकारको नेतृत्व गर्ने दौडमा शाही नै मुख्यमन्त्रीका मुख्य दाबेदारका रूपमा हेरिएका छन्।

