काठमाडौँ। सरकारले चार जना सचिवको सरुवा गर्दै एक जना वरिष्ठ सहसचिवलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेकी सचिव राधिका अर्याललाई कर्णाली प्रदेश सरकारको प्रमुख सचिवमा सरुवा गरिएको छ। सामान्यतया नयाँ सचिवलाई प्रदेशको प्रमुख सचिवका रूपमा खटाउने प्रचलन रहे पनि वरिष्ठ सचिव अर्याललाई उक्त जिम्मेवारी दिइएको निर्णयलाई निजामती प्रशासनमा अर्थपूर्ण रूपमा हेरिएको छ।
यस्तै, राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। सो मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई भने राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ।
बागमती प्रदेशको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराईलाई दिइएको सरकारले जनाएको छ।

