ईश्वरी थापा
काठमाडौं । वैदेशिक रोजगारीका लागि ओमान पुगेकी सुर्खेतकी एक महिलाको जिफन्टको पहलमा उद्धार गरी नेपाल फर्काइएको छ।
लेकबेसी नगरपालिका–६, सुर्खेतकी ३८ वर्षीया सुन्तली सुनारलाई एजेन्ट रमेश रेग्मीले क्लिनरको काममा लगाइदिने भन्दै ओमान पठाएका थिए। तर, ओमान पुगेपछि सम्झौताविपरीत उनलाई घरेलु काममा लगाइएको पीडित पक्षले जनाएको छ।
सुनारलाई करिब दुई महिनाको अवधिमा पाँचवटा घरमा काम गर्न पठाइएको र त्यसपछि पछिल्लो दुई महिनादेखि एउटा कार्यालयमा राखेर विभिन्न किसिमका मानसिक तनाव दिने गरेको बताइएको छ।
लगातारको तनाव र समस्याका कारण सुनारका श्रीमानले उनलाई सकुशल नेपाल फर्काइदिन माग गर्दै जिफन्ट प्रवासी डेस्कमा उजुरी दिएका थिए। उजुरीपछि जिफन्टले सम्बन्धित निकायसँग समन्वय गर्दै उद्धारका लागि पहल गरेको थियो।
जिफन्ट प्रवासी डेस्कका जनक विकका अनुसार उजुरी दर्ता भएको करिब १० दिनपछि सुनारलाई उद्धार गरी साउन २९ गते सकुशल नेपाल फर्काइएको हो।
वैदेशिक रोजगारीका नाममा रोजगारदाताले सम्झौताविपरीत काममा लगाउने, कार्यस्थल परिवर्तन गर्ने तथा मानसिक तनाव दिने घटनाप्रति सम्बन्धित निकायले प्रभावकारी निगरानी गर्नुपर्ने आवश्यकता यस घटनाले समेत देखाएको छ।

