काठमाडौं ।
रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि चीनले पठाएको अत्यावश्यक राहत सामग्री बोकेका दुईवटा चिनियाँ सैन्य कार्गो विमान काठमाडौं आइपुगेका छन्।
चिनियाँ वायुसेनाका दुईवटा वाई–२० सैन्य कार्गो विमान आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। ती विमान बिहान करिब ७ बजे काठमाडौं आइपुगेका थिए।
प्राप्त विवरणअनुसार दुई विमानमा गरी करिब १३ हजार २०० थान राहत सामग्री, कुल करिब ५० टन सामग्री रहेको छ। राहत सामग्रीमा टेन्ट, कम्बल, सुत्ने झोला, तयारी खाद्य सामग्री तथा प्राथमिक उपचारका सामग्रीलगायतका अत्यावश्यक सामग्री छन्।
बाढी तथा पहिरोबाट रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि चीनले नेपाललाई मानवीय सहायता उपलब्ध गराएको हो। राहत सामग्रीसँगै चीनले सुरुङ उद्धार तथा प्राविधिक कार्यमा विशेषज्ञता भएका टोलीसमेत नेपाल पठाएको छ।
यसअघि चीनले बाढी प्रभावित नेपालका लागि २० लाख अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने घोषणा गरिसकेको छ। साथै, जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा फसेका व्यक्तिको खोज तथा उद्धारमा सहयोग गर्न चिनियाँ विशेषज्ञ टोली परिचालन गरिएको छ।
चीनबाट आएको राहत सामग्रीलाई नेपाल सरकारले एकद्वार प्रणालीमार्फत व्यवस्थापन गरी आवश्यकता र प्राथमिकताका आधारमा बाढी प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको छ।
विनाशकारी बाढीपछि नेपालमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय निकायबाट सहयोग प्राप्त भइरहेको छ।

