काठमाडौं, कात्तिक ७ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शनिबार अभियानको उद्घाटन गरेका हुन्।
नेकपाका सहसंयोजक माधवकुमार नेपालका अनुसार, अभियानकाका क्रममा जनतासँग प्रत्यक्ष संवाद हुनेछ । अभियान अन्तर्गत पार्टीका केन्द्रीय नेताहरू गाउँ, वडा र टोल–टोलमा पुगेर किसान, मजदुर, युवा, विद्यार्थी र महिला लगायतका नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूको आलोचना सुन्ने कार्यतालिका छ ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार महाधिवेशनको तयारीलाई अघि बढाउँदै जनतासँगको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। अभियानका क्रममा सरकारले गरेका जनविरोधी कामको भण्डाफोर गर्ने र पार्टीलाई जनतामाझ थप सक्रिय बनाउने कार्यक्रमसमेत रहेको उनले बताए।
ज्वालाका अनुसार अभियान कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ। अभियानकै क्रममा आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वडा तथा पालिका अधिवेशनसमेत आयोजना गरिने उनले जानकारी दिए।
नेपालमा भूराजनीतिक चलखेल बढेको प्रचण्डको दाबी
अभियान उद्घाटनका अवसरमा आयोजित पत्रकार सम्मेलनमा पार्टी संयोजक प्रचण्डले नेपालमा भूराजनीतिक चलखेल बढ्दै गएको दाबी गरेका छन्। उनले नेपालको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक परिस्थिति सहज नरहेको उल्लेख गर्दै बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिको प्रभाव नेपालमा पनि परेको बताए।
विश्वका विभिन्न क्षेत्रमा जारी युद्ध तथा आन्दोलनले अन्तर्राष्ट्रिय अवस्था जटिल बन्दै गएको उनको भनाइ थियो। उनले रुस–युक्रेन युद्ध, इजरायल–प्यालेस्टाइन द्वन्द्व तथा इजरायल, अमेरिका र इरानबीचको तनावलगायतका घटनाक्रम उल्लेख गर्दै विश्व राजनीतिमा देखिएका परिवर्तनबाट नेपाल पनि अछुतो रहन नसक्ने बताए।

