नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले उत्तरी सीमा क्षेत्रमा ग्लेसियर पग्लिने र हिमताल फुट्ने जोखिमबाट जनधनको दीर्घकालीन सुरक्षाका लागि छिमेकी राष्ट्र चीनसँग कूटनीतिक पहल गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
आज बिहान चीनबाट रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण भएको अकल्पनीय मानवीय एवम् भौतिक क्षतिको समीक्षा गर्दै नेकपाले द्धिपक्षीय संयन्त्रलाई सक्रिय बनाउन, सुरक्षाका लागि पूर्वतयारी र दीर्घकालीन रुपमा समस्या समाधानका निम्ति कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको आकस्मिक बैठकले खोजी, उद्धार, राहत तथा पुनःस्थापना कामलाई प्रभावकारी बनाउन दश बुँदे निर्णय पनि पारित गरेको छ ।
बाढीको जोखिम कायमै रहेकोले थप क्षति हुन नदिन सुरक्षा सतर्कता तथा पूर्वतयारी गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै नेकपाले बाढी प्रभावित क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायसँग समन्वय, पार्टी पंक्ति र स्वयम्सेवक परिचालन गर्न समिति सदस्य एवम् बागमती प्रदेश इन्चार्ज गंगालाल तुलाधारको संयोजकत्वमा ‘केन्द्रिय खोज उद्धार राहत समन्वय समिति’ गठन गरेको छ ।

