काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा पार्किङ गरिएको कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार मृतक तारकेश्वर नगरपालिका–९ निवासी ४५ वर्षीया रश्मि रिजाल हुन्।
प्रहरीका अनुसार रिजाल शुक्रबार कार्यालय जान्छु भन्दै घरबाट निस्किएकी थिइन्। तर कार्यालय नपुगेपछि परिवारले उनी बेपत्ता भएको भन्दै सोही दिन प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए।
खोजीका क्रममा शनिबार चुनदेवी क्षेत्रमा रहेको कारको पछाडिको सिटमा जलेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा कारको भित्री भाग अधिकांश जलेको देखिएको र धुवाँका कारण निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको भन्दै प्रहरीले सबै कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।

