काठमाडौं । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल प्रहरीले सम्मान गरेको छ।
नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा मंगलबार आयोजित ‘मानव बेचबिखन रोकथाम: सबैको साझा जिम्मेवारी’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कलाकारद्वयलाई कदरपत्रसहित सम्म्मान गरेका हुन्।
महानिरीक्षक कार्कीले हास्यव्यंग्यका माध्यमबाट गम्भीर सामाजिक विषयलाई प्रभावकारी रूपमा जनमानससम्म पुर्याउँदै मानव बेचबिखनविरुद्धको अभियानलाई सशक्त बनाउन महजोडीले पुर्याएको योगदानको प्रशंसा गरे।
नेपाल प्रहरीका अनुसार श्रेष्ठ र आचार्य आगामी एक वर्षसम्म मानव बेचबिखनविरुद्धको राष्ट्रिय सचेतना अभियानमा ‘एन्टी ह्युमन ट्राफिकिङ अवारनेस’का राजदूतका रूपमा आबद्ध भई आफ्नो कला, आवाज र लोकप्रियतामार्फत जनचेतना फैलाउनेछन्।
अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस–२०२६ को अवसरमा ‘ट्र्याप्ड बिहाइन्ड द स्क्याम’ नारासहित नेपाल प्रहरीको आयोजना तथा माइती नेपालको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले मानव बेचबिखनलाई परम्परागत दृष्टिकोणबाट मात्र नभई साइबर अपराध, आर्थिक अपराध र अन्तर्राष्ट्रिय संगठित अपराधसँग जोडिएर हेर्नुपर्ने आवश्यकता औँल्याए।
उनले पछिल्ला वर्षहरूमा मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै पीडितका कानुनी कागजात दुरुपयोग गरी अनलाइन ठगी र साइबर स्क्यामजस्ता गतिविधि नयाँ चुनौतीका रूपमा देखा परेको बताए। यस्ता चुनौती सामना गर्न नेपाल प्रहरीले सूचना संकलन प्रणाली सुदृढ बनाउने, सीमा क्षेत्रमा निगरानी बढाउने, जोखिममा रहेका यात्रुको प्रोफाइलिङ गर्ने तथा म्यानपावर कम्पनी र शैक्षिक कन्सल्टेन्सीको आवरणमा हुने मानव तस्करीविरुद्ध कडा कारबाहीलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले जानकारी दिए।

