काठमाडौं। गृहमन्त्री सुदन गुरुङ बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। उनी सोमबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्लीका लागि प्रस्थान गरेका हुन्।
अक्टोबर १३ मा आयोजना हुने बैठकमा बङ्गालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास (बिमस्टेक) का सातवटै सदस्य राष्ट्रका गृहमन्त्री तथा आन्तरिक सुरक्षा हेर्ने अधिकारीहरू सहभागी हुनेछन्।.
बैठकमा आतंकवाद, मानव बेचबिखन, साइबर अपराध, सम्पत्ति शुद्धीकरण तथा लागुऔषध तस्करीजस्ता क्षेत्रीय सुरक्षा चुनौतीहरू सामना गर्न सदस्य राष्ट्रबीच सहकार्य सुदृढ बनाउने विषयमा छलफल हुनेछ।
नेपालका तर्फबाट सहभागी गृहमन्त्री गुरुङले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद् व्यवस्थापनमा क्षेत्रीय सहकार्य बढाउने विषयलाई पनि प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ। यसअन्तर्गत पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने तथा खोज, उद्धार र राहत कार्यमा सदस्य राष्ट्रबीच समन्वय सुधार गर्ने विषय समेटिनेछन्।

