काठमाडौं, कात्तिक १७ गते ।
पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपालले १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले विपिनप्रसाद शर्माको कप्तानीमा प्रतियोगिताका लागि टोली सार्वजनिक गरेको हो। एसिया कप यही कात्तिक १९ देखि २८ गतेसम्म ओमानमा आयोजना हुँदैछ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। समूह चरणअन्तर्गत नेपालले कात्तिक २० गते भारत, २२ गते संयुक्त अरब इमिरेट्स (यूएई) र २४ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
घोषित टोलीमा कप्तान विपिनप्रसाद शर्मासहित निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट रहेका छन्।
प्रतियोगितामा नेपालले भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्दै आफ्नो खेल क्षमता प्रदर्शन गर्ने अवसर पाउनेछ।

