दाङ । अखिल नेपाल महिला संगठन लुम्बिनी प्रदेशको एकता भेला आइतबार दाङको भालुवाङमा सम्पन्न भएको छ। विभिन्न वाम घटकबीचको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट महिला संगठनको भेलाले पुनम शेर्पालीलाई प्रदेश संयोजक चयन गरेको छ।
भेलाले सस्मति चौधरी र खुमा कुमारी बुढालाई सह–संयोजकको जिम्मेवारी दिँदै १७५ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो।
भेलामा संगठनकी केन्द्रीय संयोजक दामा शर्मा, सहइन्चार्ज विमला सुवेदी, सह–संयोजक मनु सिग्देल, संगठन विभाग प्रमुख रेनु दाहाललगायतका नेताहरूको सहभागिता थियो। नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश संयोजक अवदुल हुसेन र सहसंयोजक प्रकाश अधिकारी पनि कार्यक्रममा सहभागी थिए।
कार्यक्रममा नेताहरूले वाम एकताबाट महिला संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने आधार तयार भएको बताए। उनीहरूले महिलाका राजनीतिक, सामाजिक तथा आर्थिक अधिकारका मुद्दालाई प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा संगठन विस्तार गर्नुपर्नेमा जोड दिए।
महिला हिंसा, विभेद र सामाजिक असमानताविरुद्ध अभियान सञ्चालनसँगै महिलाको नेतृत्व क्षमता विकास र राजनीतिक सहभागिता बढाउन संगठनले भूमिका खेल्नुपर्ने उनीहरूको भनाइ थियो।
नवगठित प्रदेश कमिटीले जिल्लास्तरसम्म संगठन विस्तार गर्दै महिलाका दैनिक जीवनसँग जोडिएका सवाललाई राजनीतिक तथा सामाजिक आन्दोलनसँग जोडेर अघि बढाउने प्रतिबद्धता जनाएको छ। भेलामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट महिला नेतृ तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

