काठमाडौं ।
नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएकी छन्।
टपटेन खबरका प्रतिनिधिसँग कुरा गर्दै महामन्त्री संग्रौलाले आवासको उचित व्यवस्था नगरी सुकुम्बासी परिवारलाई एक ठाउँबाट अर्को ठाउँमा विस्थापित गर्नु अमानवीय र गैरजिम्मेवार कदम भएको बताएकी हुन्।
उनले सरकारले सुकुम्बासी तथा भूमिहीन नागरिकको समस्यालाई मानवीय संवेदनशीलताका साथ सम्बोधन गर्नुपर्नेमा उल्टै उनीहरूलाई थप संकटमा पार्ने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
वैकल्पिक आवासको सुनिश्चितता नगरी होल्डिङ सेन्टरबाट समेत हटाउने निर्णयले विस्थापित परिवारको बसोबास, बालबालिकाको शिक्षा, स्वास्थ्य र दैनिक जीवनयापनमा गम्भीर असर पर्ने उनको भनाइ छ। राज्यले नागरिकलाई सुरक्षित आवासको अधिकारबाट वञ्चित गर्न नहुने भन्दै उनले सुकुम्बासी समस्याको समाधान बल प्रयोग वा विस्थापनबाट नभई न्यायोचित र दीर्घकालीन पुनर्वासको व्यवस्थाबाट खोजिनुपर्नेमा जोड दिइन्।
महामन्त्री संग्रौलाले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन र विस्थापित सुकुम्बासी परिवारका लागि सुरक्षित तथा दिगो पुनर्वासको व्यवस्था गर्न जोडदार मागसमेत गरेकी छन्।
उनले आवासको हकलाई नागरिकको मौलिक अधिकारका रूपमा सम्मान गर्दै भूमिहीन तथा सुकुम्बासी परिवारको समस्या समाधानका लागि सरकारले स्पष्ट नीति, मानवीय दृष्टिकोण र प्रभावकारी कार्ययोजनासहित अघि बढ्नुपर्ने धारणा व्यक्त गरेकी छन्।
उनको भनाइमा, वैकल्पिक आवासको व्यवस्था नगरी नागरिकलाई विस्थापित गर्नु समस्याको समाधान होइन, बरु उनीहरूको पीडालाई थप गहिरो बनाउनु हो।

