काठमाडौं, कात्तिक ४।
बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ। आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर आशीर्वाद ग्रहण गरिँदै छ।
दसैँको अवसरमा घटस्थापनादेखि नौ दिनसम्म घर तथा पूजा कोठामा दुर्गा भवानीको विधिपूर्वक पूजा–आराधना गरी राखिएको जमरा र विजयादशमीको टीका आज मान्यजनबाट ग्रहण गर्ने परम्परा छ।
टीका प्रसाद ग्रहण गर्न शुभ साइत खोज्नेहरूका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १० बजेर २६ मिनेटको समय उत्तम रहेको जनाएको छ।
समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन अनिवार्य रूपमा साइत खोज्नुपर्दैन। तर राज्य सञ्चालकले भने शुभ साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता रहेको उनले बताएका छन्।
उनका अनुसार राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय विश्वासका आधारमा साइत निर्धारण गरिएको हो।

