काठमाडौं, कात्तिक ११ गते ।
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभाव नेपालमा पनि पर्ने भएपछि देशको विभिन्न क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको जोखिम बढेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि चक्रवातको प्रभाव देखिन सक्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले बुधबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार चक्रवात बुधबार भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छ । त्यसपछि यसको प्रभाव नेपालमा देखिन सक्ने अनुमान गरिएको छ ।
चक्रवातको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा हुने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा समेत वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
मौसमविद् बिनु महर्जनका अनुसार चक्रवातको प्रभाव नेपालमा देखिन थालिसकेको छ । स्याटेलाइट तस्बिरअनुसार चक्रवात भारतको आन्ध्र प्रदेश आसपासको सामुद्रिक क्षेत्रमा रहेको र तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गर्ने क्रममा छ । यसको प्रभावले देशको विभिन्न भागमा बादल लाग्ने, मौसम बदली हुने र केही स्थानमा वर्षा हुने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
महर्जनका अनुसार शुक्रबार र शनिबार वर्षाको सम्भावना अझ बढ्ने देखिएको छ । यस अवधिमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुन सक्छ ।
ती प्रदेशको थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
(गोरखापत्र बाट)

