मलङ्गवा कार्तिक १५,
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरी सच्याउँदै जनतासँगको सम्बन्धलाई नयाँ ढङ्गले स्थापित गरेर कम्युनिस्ट आन्दोलनलाई पुनः शक्तिशाली बनाउने बताउनुभएको छ।
आइतबार सर्लाही सदरमुकाम मलङ्गवामा आयोजित नेपाली कम्युनिस्ट पार्टीको जिल्ला एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुभयो। संविधान र लोकतन्त्रको रक्षामा चुनौती थपिँदै गएको उल्लेख गर्दै उहाँले राजनीतिक परिवर्तनका उपलब्धि जोगाउन जनतामाझ पुग्नुपर्नेमा जोड दिनुभयो।
“विगतका गल्ती सच्याउँदै जनताका घरदैलो र टोलबस्तीमा पुग्दै छौँ। कम्युनिस्ट पार्टीहरू फेरि शक्तिशाली बन्नेछन्,” प्रचण्डले भन्नुभयो। पार्टीलाई जनतासँग जोड्ने, सङ्गठन विस्तार गर्ने र नयाँ राजनीतिक चेतना निर्माण गर्ने उद्देश्यले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको उहाँले स्पष्ट पार्नुभयो। घरदैलो अभियानसँगै राष्ट्रव्यापी आन्दोलनको तयारीमा समेत पार्टी जुटिरहेको उहाँको भनाइ थियो।
मधेशलाई राजनीतिक परिवर्तन, सङ्घर्ष र सहिदहरूको बलिदानसँग जोडिएको महत्वपूर्ण भूमि उल्लेख गर्दै प्रचण्डले राष्ट्रियता र स्वाधीनताको रक्षाका लागि मधेशले पुनः अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो।
कार्यक्रममा नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ३५ वर्षको राजनीतिक यात्रालाई पूर्ण असफल देखाउने प्रवृत्तिको आलोचना गर्नुभयो। शिक्षा, साक्षरता, सडक सञ्जाल, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा विद्युत् परियोजनालगायत क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको उहाँको भनाई थियो। नेपालले वर्तमान सरकारलाई रोजगारी सिर्जना, किसानका समस्या समाधान र उद्योगधन्दा सञ्चालनलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो। युरोपका विभिन्न देशमा जस्तै नेपालमा पनि कम्युनिस्ट आन्दोलनले बलियो स्थान बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो।
यसैबीच, कार्यक्रममा सर्लाहीका विभिन्न राजनीतिक दलमा आबद्ध नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीमा एकीकृत भएको घोषणा गरिएको छ। देशका अन्य ७६ जिल्लामा एकता प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा सर्लाहीमा समेत जिल्ला एकता कार्यक्रम आयोजना गरिएको नेकपा सर्लाहीका नेता रामेश्वर रायले जानकारी दिनुभयो।
जिल्लाका विभिन्न क्षेत्रबाट सहभागी नेता तथा कार्यकर्तालाई पार्टीका केन्द्रीय संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, प्रदेश इन्चार्जलगायतका नेताहरूले पार्टीको राजनीतिक कार्यदिशा, सङ्गठन निर्माण र राष्ट्रिय जागरण अभियानका विषयमा प्रशिक्षण दिनुभएको थियो।
सर्लाहीको एकता तथा प्रशिक्षण कार्यक्रमलाई मधेशमा पार्टी सङ्गठन सुदृढीकरण र राष्ट्रिय जागरण अभियानलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ।
कार्यक्रममा पूर्व गृहमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका कार्य संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठ ,कार्य संयोजन समितिका सदस्य सुबास राज काफ्ले,कार्य संयोजन समितिका सदस्य तथा मधेस प्रदेसका ईन्चार्ज महेन्द्र राय यादब,मधेेश प्रदेसका सह ईन्चार्ज राम कुमार भट्टराई लयागतको उपस्थित रहेको थियो।कार्यक्रम को अध्यक्षता रामेश्वर प्रसादले गरेका थिए।

