न्युयोर्क । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको गम्भीर असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन्। उनले जलवायु संकटको दीर्घकालीन प्रभाव न्यूनीकरण तथा विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।
शुक्रबार बिहान भएको सम्बोधनको सुरुमै प्रधानमन्त्री शाहले हिमालयको काखमा रहेको नेपालबाट मानवजातिले भविष्यमा भोग्नुपर्ने गम्भीर संकटको चेतावनी लिएर आफू आएको बताए। उनले आफूले विकास, लोकतन्त्र, शान्ति र युवा राष्ट्रका आकांक्षाबारे बोल्न चाहेको भए पनि पछिल्लो विपद्का कारण ठूलो स्तरको मृत्यु र विनाशबारे बोल्नुपरेको उल्लेख गरे।
भोटेकोसी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीको प्रसंग उठाउँदै शाहले बाढीमा परिवारका सदस्य गुमाएका तथा आफ्ना प्रियजनको प्रतीक्षामा रहेका परिवारको पीडा सुनाए। उनले हिलो, ढुंगा र पानीमा बेपत्ता आफन्त खोजिरहेका समुदायको अवस्थासमेत अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरे।
प्रधानमन्त्री शाहले बाढीका कारण पुल, सडक, विद्यालय, घर तथा मानिसहरूको जीविकोपार्जनका आधारहरू केही मिनेटमै बगेर गएको बताए। यसले नेपालले दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा गरिरहेको प्रगतिमा समेत गम्भीर असर पारेको उनको भनाइ थियो।
उनले भोटेकोसीको विपद्लाई नेपालका लागि मात्र नभई हिमाली क्षेत्र र समग्र विश्वका लागि चेतावनीका रूपमा लिन आग्रह गरेका छन्। जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर भने गम्भीर रूपमा भोग्नुपरेको भन्दै शाहले जलवायु न्याय र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता औँल्याएका छन्।
यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा पनि प्रधानमन्त्री शाहले भोटेकोसी विपद्, जलवायु जोखिम, नदी किनारमा बसोबास गर्ने समुदायको पुनर्स्थापना र हरित पुनर्निर्माणका विषय उठाएका थिए।
