काठमाडौँ । कोलम्बियामाथि पेनाल्टी सुटआउटमा रोमाञ्चक जित निकाल्दै स्वीट्जरल्यान्ड ‘फिफा विश्वकप–२०२६’ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज सम्पन्न अन्तिम १६ को खेलमा निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयसम्म दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। त्यसमा स्वीट्जरल्यान्डले कोलम्बियालाई ४–३ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्यो।
स्वीट्जरल्यान्डका लागि ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले सफल प्रहार गरे। म्यानुअल अकांजीको प्रहार भने गोलमा परिणत हुन सकेन।
कोलम्बियाका तर्फबाट जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले पेनाल्टीमा गोल गरे। तर डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार असफल भएपछि टोली प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
यससँगै ‘फिफा विश्वकप–२०२६’ को अन्तिम १६ चरणका सबै खेल सम्पन्न भएका छन् भने क्वार्टरफाइनलको समीकरण पनि पूरा भएको छ।

