काठमाडौं, कात्तिक २५ । तिहारको अन्तिम दिन आज भाइटीकाका अवसरमा काठमाडौंस्थित ऐतिहासिक रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भक्तजनका लागि खुला गरिएको छ।
दिदीबहिनी नभएका दाजुभाइ तथा दाजुभाइ नभएका दिदीबहिनीले यहाँ पुगेर पूजा, दर्शन तथा टीका ग्रहण गर्ने परम्परा रहिआएको छ।
हरेक वर्ष भाइटीकाका दिन खुल्ने यस मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइहरू पुगेर सप्तरङ्गी टीका लगाउने, माला ग्रहण गर्ने र एकअर्कासँग आत्मीयता साटासाट गर्ने गर्छन्।
बालगोपालेश्वर मन्दिरको यो परम्पराले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध, सामाजिक सद्भाव र आपसी प्रेमको सन्देश प्रवाह गर्दै आएको छ।

