पोखरा । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया निर्णायक चरणमा पुगेको छ। दाबी–विरोध र आवश्यक छानबिनपछि महानगरले ५६७ परिवारको अन्तिम विवरण टुंगो लगाएको हो।
महानगर प्रमुख धनराज आचार्यका अनुसार अन्तिम सूचीमा १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुमबासी गरी ३२५ परिवार भूमिहीनका रूपमा कायम भएका छन्। त्यस्तै, २४२ परिवारलाई अव्यवस्थित बसोबासीका रूपमा सूचीकृत गरिएको छ।
यसअघि भूमिहीन दलितका २००, भूमिहीन सुकुमबासीका २४८ तथा अव्यवस्थित बसोबासीका ११६ गरी ५६४ निवेदन परेको थियो। दाबी–विरोध तथा संशोधनका निवेदनमाथि छानबिन गरेपछि अन्तिम विवरणमा संख्या परिवर्तन भएको महानगरले जनाएको छ।
वडा तहको सहजीकरण समितिले तयार पारेको प्रतिवेदन वडा समितिमार्फत महानगरपालिकामा पठाइएको छ। अब महानगर कार्यपालिकाले प्रतिवेदनमाथि निर्णय गरी जिल्ला समितिमा सिफारिस गर्ने तयारी गरेको छ।
प्रमुख आचार्यले वास्तविक भूमिहीन तथा सुकुमबासीलाई न्याय हुने गरी व्यवस्थापन गरिने बताउनुभएको छ। प्रक्रिया समयमै अघि बढे आगामी सातादेखि बस्ती स्थानान्तरणको काम सुरु गर्ने महानगरको तयारी छ।
यता भूमिहीन सुकुमबासी सरोकार समितिका संयोजक प्रेम गुरुङले विकास निर्माणमा आफूहरू बाधक नबन्ने स्पष्ट पार्दै बसपार्क खाली गर्नुअघि वास्तविक सुकुमबासीको उचित व्यवस्थापन हुनुपर्ने माग गर्नुभएको छ।

