काठमाडौं । बाजुराको धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले फोर–जी सेवा विस्तार गरेको छ। सेवा सञ्चालनमा आएसँगै बडीमालिका पुग्ने तीर्थयात्री, स्थानीय बासिन्दा, पर्यटक तथा सरकारी–गैरसरकारी निकाय सञ्चार सेवाबाट लाभान्वित भएका छन्।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट फोर–जी सेवा उद्घाटन गर्दै दुर्गम क्षेत्रका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए।
मन्त्री तिमिल्सिनाले दुर्गम तथा पर्यटकीय क्षेत्रमा गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा विस्तारलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे। उनले बडीमालिकामा टावर निर्माण तथा सेवा सञ्चालनका लागि खटिएका नेपाल टेलिकमका प्राविधिकसँग भिडियो कलमार्फत प्रत्यक्ष संवाद गरी सेवाको अवस्थाबारे जानकारीसमेत लिए।
सडक सञ्जालबाट उपकरण तथा निर्माण सामग्री ढुवानी गर्न कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत टावर निर्माणका आवश्यक सामग्री बडीमालिका पुर्याइएको थियो।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीले व्यावसायिक लाभभन्दा सञ्चार पहुँच कमजोर रहेका दुर्गम क्षेत्रमा सेवा पुर्याउने जिम्मेवारीलाई प्राथमिकता दिइएको बताइन्। उनले देशका विकट भूभागमा नयाँ पूर्वाधार निर्माण गर्दै सञ्चार सेवा विस्तार र गुणस्तर सुधारको काम भइरहेको जानकारी दिइन्।
यसअघि सञ्चारमन्त्री तिमिल्सिनाले बडीमालिका क्षेत्रमा तत्काल दूरसञ्चार सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका थिए। मन्त्रीको निर्देशनपछि टेलिकमले प्राविधिक तथा भौगोलिक चुनौतीबीच टावर निर्माण गरी फोर–जी सेवा सञ्चालनमा ल्याएको हो।

