पर्वत । पर्वत प्रहरीले चोरी भएको करिब १० तोला सुनका गरगहनासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोदी गाउँपालिका–५ बाजुङका करिब ३० वर्षीय खड्कबहादुर कुँवर रहेका छन्।
प्रहरीका अनुसार कुँवरलाई मोदी गाउँपालिका–६, उपल्लो डिमुवाबाट चोरीका गरगहनासहित नियन्त्रणमा लिइएको हो। उनले मोदी गाउँपालिका–२ पातिचौरस्थित देउराली होटलका सञ्चालक दिनेशकुमार पुनको घरमा रहेको सुत्ने कोठाबाट सुनका गरगहना चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घरबाट गरगहना चोरी भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको कमाण्डमा ६ सदस्यीय टोली परिचालन गरिएको थियो। खोजीका क्रममा प्रहरीले कुँवरलाई चोरी भएको सुनसहित फेला पारेको जनाएको छ।
पक्राउ परेका कुँवरलाई जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

