काठमाडौं । मलेसियाका लागि नेपाली राजदूतमा प्रस्तावित चूडामणि खरेलको नाम संघीय संसद्को संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ। उनीमाथि आर्थिक अनियमितता, विभिन्न व्यक्ति तथा व्यवसायीसँगको कथित आर्थिक लेनदेन र स्वार्थको द्वन्द्वसम्बन्धी गम्भीर आरोप उठेपछि उनको नाम अस्वीकृत भएको हो।
संसदीय सुनुवाइका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले खरेलमाथि प्रश्न उठाएपछि उनको सुनुवाइ प्रक्रिया रोकिएको थियो। उनीमाथि विभिन्न व्यक्तिसँग आर्थिक लेनदेन गरेको तथा राजदूतमा सिफारिस भएपछि रकम फिर्ता गर्न थालेको आरोपसहित उजुरी परेको थियो।
उजुरीअनुसार खरेलले झापाका स्थानीयवासीलाई अनुदान उपलब्ध गराइदिने भन्दै रकम लिएको आरोप छ। त्यस्तै, म्यानपावर व्यवसायीसँग राजदूत बनेपछि काम गरिदिने आश्वासनमा रकम लिएको र व्यवसायीसँग सम्बन्धित गाडी प्रयोग गरेको दाबीसमेत गरिएको छ।
म्यानपावर व्यवसायी विजय मिश्रको एड्भेन्चर ओभरसिजसँग करिब दुई करोड रुपैयाँको कथित लेनदेन तथा बा २० च ५३९ नम्बरको टोयोटा आरएभी–४ गाडी प्रयोग गरेको विषय पनि उजुरीमा उल्लेख छ।
यसैगरी, योग महासंघ नेपालमा महासचिवका रूपमा काम गर्दा आर्थिक दायित्व र बक्यौतासम्बन्धी अनियमितता गरेको, पोखराको सार्वजनिक वन क्षेत्रको जग्गा मिलाइदिने भन्दै ठूलो रकम लिएको तथा जनकपुर क्षेत्रमा जग्गासम्बन्धी अनियमिततामा संलग्न रहेको आरोप पनि उनीमाथि लगाइएको छ।
Previous Articleदशैँको हार्दिक शुभकामना , जनहितमा जारी सूचना पालना गरौँ
Next Article नैतिक सोच र सत्कर्म

