नयाँ दिल्ली (भारत), मङ्सिर ७। भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज (आइतबार) भेटवार्ता हुँदैछ।
परराष्ट्र मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ बजे दुई प्रधानमन्त्रीबीच भेटवार्ताको कार्यक्रम तय भएको छ।
भेटवार्ताका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा विभिन्न महत्वपूर्ण विषयमा छलफल हुनुका साथै केही महत्वपूर्ण सहमति र सम्झौता हुने अपेक्षा गरिएको छ।
भेटपछि प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा विभिन्न आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त सम्बोधन गर्नेछन्।
यसैगरी, भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। प्रधानमन्त्री शाहले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत रहेको छ।
त्यसअघि प्रधानमन्त्री शाहले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्पहार अर्पण गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्च सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारकर्मी सहभागी छन्।
प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारत सम्बन्ध र द्विपक्षीय सहकार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
