काठमाडौं । भक्तपुर विकास सहयोग संघको ३५औँ स्थापना दिवस तथा ३२औँ साधारण सभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ। संघले स्थापना दिवसका अवसरमा खोपृङ २८औँ अंक सार्वजनिक तथा वितरण, खोपृङ रत्न सम्मान–२०८३ तथा खोपृङ मुठीदान आर्थिक–शैक्षिक सहयोग कार्यक्रम–२०८३ आयोजना गरेको हो।
काठमाडौंको डीडीआई ब्याङ्केट, बुद्धनगरमा आयोजित कार्यक्रममा वरिष्ठ सीमाविद् एवं नेपालको चुच्चे नक्साका प्रवर्तक बुद्धिनारायण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा संघका अध्यक्ष राजु मुनेन्द्र जोशीले स्वागत मन्तव्य राख्नुभएको थियो।
स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई खोपृङ विशेष सम्मान तथा खोपृङ रत्न सम्मान–२०८३ प्रदान गरिएको थियो। त्यस्तै आर्थिक तथा शैक्षिक सहयोग आवश्यक पर्ने व्यक्तिहरूलाई मुठीदान आर्थिक–शैक्षिक सहयोग समेत वितरण गरिएको थियो।
कार्यक्रममा संघको वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफलपछि पारित गरिएको थियो। संघका सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको कार्यक्रममा संघले सामाजिक, शैक्षिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा गर्दै आएको योगदानको चर्चा गरिएको थियो।
भक्तपुरको मौलिक पहिचान संरक्षण गर्नुपर्नेमा बुद्धिनारायण श्रेष्ठको जोड
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुद्धिनारायण श्रेष्ठले हरेक समाजको आफ्नै भाषा, संस्कृति, साहित्य, पहिचान र भेषभूषा हुने बताउनुभयो। उहाँले भक्तपुरले आफ्नै निख्खर र मौलिक पहिचान बोकेर अगाडि बढिरहेको उल्लेख गर्दै त्यसको संरक्षण र प्रवर्द्धनमा सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
“कुनै पनि समाजमा आफ्नै भाषा, संस्कृति, साहित्य, पहिचान र भेषभूषा रहेको हुन्छ। त्यसमा भक्तपुरले त आफ्नै निख्खर र मौलिक पहिचान बोकेर अगाडि बढिरहेको पाइन्छ,” श्रेष्ठले भन्नुभयो।
भक्तपुर विकास सहयोग संघले समेत भक्तपुरको मौलिक भाषा, संस्कृति, साहित्य र पहिचानलाई अंगीकार गर्दै विश्वभर छरिएर रहेका नेपालीलाई जोड्ने महत्वपूर्ण काम गरिरहेको उहाँले बताउनुभयो।
संघका गतिविधिले भक्तपुरको मौलिक पहिचानलाई देश तथा विदेशमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै श्रेष्ठले नेपाली भाषा, संस्कृति, साहित्य र परम्पराको संरक्षणसँगै विश्वभर रहेका नेपालीबीच आपसी सम्बन्ध र सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि संघले स्थापना कालदेखि सामाजिक सेवा, शिक्षा, संस्कृति तथा समुदायको हितका क्षेत्रमा गर्दै आएको कार्यको प्रशंसा गरेका थिए। उनीहरूले बदलिँदो समयमा संघका गतिविधिलाई थप व्यापक र प्रभावकारी बनाउँदै नयाँ पुस्तालाई समेत भाषा, संस्कृति र मौलिक पहिचानसँग जोड्नुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा प्रमुख अतिथिसहित विभिन्न अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। संघका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागितामा सम्पन्न सभाले आगामी दिनमा सामाजिक, शैक्षिक तथा सांस्कृतिक गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

