–विश्वनाथ खरेल
हिन्दूहरुले प्रत्येक वर्ष श्रीकृष्णजन्माष्टमीमा भगवान् श्रीकृष्णको पूजा आजा गरी श्रद्धा भक्तिपूर्वक मनाउँछन् । यसमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । यसरी जन्मष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरुमा भगवान् श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेष गरी महिलाहरु व्रत बसी रातमा जाग्राम बस्ने चलन छ । जसरी संसारमा भएका अन्याय, अत्याचार राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान विष्णुको आठौं आधारको रुपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । यसरी कुरुक्षेत्रमा कौरवहरुसँगको लडाइँमा संलग्न पाण्डवहरुमध्येका अर्जुनलाई आदेश दिने क्रममा स्वयं उहाँका मुखारविन्दबाट व्यक्त श्रीमद्धभागवत् गीता हिन्दूहरुको पवित्र ग्रन्थ मानिन्छ । जसमा भन्ने नै हो भने बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध, शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गर्नु भएको थियो ।
भगवान् श्रीकृष्ण धरतीमा प्रादुर्भाव भएको यसै दिनलाई श्रीकृष्णजन्माष्टमी भनिन्छ । यो संसारमा भगवान् श्रीकृष्ण धरतीमा प्रादुर्भाव हुनुभएको यसै दिनलाई श्रीकृष्णजन्माष्टमी भनिन्छ । यस दिनलाई वैष्णव धर्मावलम्बीहरु, वल्लभ सम्प्रदाय, चैतन्य सम्प्रदाय, राधाकृष्ण सम्प्रदाय, श्रीकृष्णप्रणामी सम्प्रदायलगायत अन्य हिन्दू धर्मावलम्बीहरुले विशेष महत्वका साथ व्रतोवास गरी मनाउँछन् । जव बसुदेवलाई गोकुल जाने आज्ञा भयो तब यशोदाको गर्भबाट योगमायाको पनि जन्म भयो । यो रहस्य योगमायाको प्रभावले बसुदेवले पनि थाहा पाउनु भएन बसुदेव यशोदा कन्य लिएर कंसको कारागारमा फर्कनु भयो र पहिलेकै बन्धनमय अवस्थाप्राप्त गर्नुभयो । यिनै श्रीकृष्णले परवर्ती समयमा कैशोरवयसमा किशोर लीला प्रकट गर्नु भयो जस्मा उहाँको रुपको माधुर्यको सिमा नै छैन् ।
श्रीकृष्णजन्माष्टमी दिन श्रद्र्धालु भक्तजनहरुले साँझमा स्नानपूजा गरी आधारातमा नौनी हातमा लिएका बालकृष्णलाई वा शालिग्रामको शीलालाई काँक्रोभित्र राखी राख्छन् । यसको ठीक मध्यरातमा शिलालाई त्यसबाट निकालेर हर्षोल्लासका साथ जन्मोत्सव गरिन्छ । यसलाई मध्यरातमा श्रीकृष्ण जन्मेको संकेतका रुपमा लिइन्छ । त्यसपछि पञ्चामृत वा शुद्ध जलले भगवान्लाई स्नान गराई श्रीखण्ड, चन्दन, तील, अक्षता र फूलले भगवान्को पूजा गरिन्छ । भगवान्लाई वस्त्र र जनैसमेत अर्पण गरी धूपदीप बालिन्छ र भोग चढाइन्छ । जसमा नैवेद्यको भोग लगाउँदा विशेषतः हलुवा, पेडा, मिठाई तथा केरा, नासपाती, स्याउ आदि फलफूलको भोग लगाइन्छ । त्यसपछि भजनकीर्तनसहित आरती गरिन्छ र पुष्पाञ्जली चढाएर भगवान्लाई साष्टाङ प्रणाम गरी अखण्ड दीप बालिन्छ । अनि रातभर श्रीकृष्णको भजनकीर्तन गाएर जाग्राम बस्ने चलन छ ।
भगवान् श्रीकृष्णका हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान् श्रीकृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म भएको मान्यता रहिआएको छ । आज उनै भगवान् श्रीकृष्णको जन्मदिन । अतः संसारभरका हिन्दु धर्मावलम्वी अनि श्रीकृष्णका भक्तहरुले आज प्रिय भगवान् कृष्णको जन्मदिवस मनाउँदैछन् । जुन अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान् श्रीकृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे । उनको मुस्कानमा हर्ष छ, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत संगमयूक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाखँ सजिएको हुन्छ, गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरीएका कृष्णका पोशाकका रगंहरु बिजुलि चम्किंदाको जस्तो चम्किलो हुन्छन् र उनको पैतालाका नङ्गका रगंहरुले चन्द्रमाको आभाष मिल्छ । त्यस्ता व्यक्तित्वका धनी उनै श्रीकृष्णको परिचयका श्रृंखला थुप्रै छन् । जसमा मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी र दुधका घैला फूटाउने चकचके जस्ता अनेक कार्यहरू कृष्णलिलाको पगरी गुथेर परिचित छन्, बदनाम तर पनि सबैका प्रिय पात्र हुन । उनका कथाहरु र घटनाहरु बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भूलोकमैं चर्चित छन् । यिनलाई गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका छन् । यसको साथै श्रीमद्भागवत् गीताका अनुसारः भगवान श्रीकृष्णको जन्म, लिलाहरू र उपस्थिती एकदमै अलौकीक छ । जसले ति कुराहरु बुझ्न सक्दछ उसले स्वतः अध्यात्मिक जगतमा प्रवेश पाउँदछ । यसरी कृष्णको जन्म र भौतिक उपस्थिती हामी सामान्य मानवहरुको लागि पूर्वजन्मका कार्यको फलको रुपमा भएको हैन र आफ्ना भक्तहरुलाई आफ्नो माया प्रेम दर्शाउन र उनीहरुलाई न्याय दिन यस धर्तीमा प्रवेश गरेको उल्लेख छ ।
समग्रमा भन्नुपर्दा भगवान् श्रीकृष्णले गीतामा भन्नुभएको छ, जबजब यस संसारमा पापीहरुको अत्याचार बढ्छ र धर्मको उत्थान एवं साधुसन्तहरुको जीवनरक्षाका निम्ति म पृथ्वीमा तीन कारणले गर्दा अवतरित हुन्छु भनेका छन् । त्यसरी नै द्वापर युगमा पनि श्रीकृष्णले धर्म रक्षाका निम्ति भगवान् विष्णुका दस अवतारमध्ये आठौं अवतार मानिएको छ । यसै सन्दर्भमा श्रीकृष्णसँग अर्जुनले सोध्नु भयो, “ तपाई कहिले कहिले र किन जन्म लिला गरेर यस ब्रहमाण्डमा अवतरित हुनुहुन्छ ?” श्रीभगवान्ले भन्नु भयो – यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् । परिभाणाय साधुनां बिनाशय च दृष्कृताम् । धर्मसस्थापनार्थाय सम्भवामी युगे युगे । हे अर्जुन जब जब धर्मको हानि र अधर्मको बृद्धि हुन्छ साथै साधु पुरुषको रक्षा र दुषित कर्म गर्ने व्यक्तिको नाश गर्नको लागि म युग युगमा प्रकट हुन्छु । सृष्टिको रक्षा पालनको दायित्व पनि त श्रीविष्णुको हो ।

