काठमाडौं । जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवाल कर्जा दुरुपयोगसम्बन्धी मुद्दामा पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अग्रवाललाई पक्राउ गरी बुधबार नै अदालतमा उपस्थित गराएको हो।
सीआईबीका एसएसपी अनुपम शमशेर राणाका अनुसार अग्रवालविरुद्ध कर्जा दुरुपयोगको कसुरमा अनुसन्धान पूरा गरी उच्च अदालत पाटनमा मुद्दा दायर भइसकेको छ।
उक्त मुद्दामा अग्रवालसँगै उनका छोरा सुलभ अग्रवाल र दीपक भट्ट पनि प्रतिवादी रहेका छन्। प्रहरीले सोही मुद्दाको सिलसिलामा अग्रवाललाई नियन्त्रणमा लिएर कानुनी प्रक्रियाअनुसार अदालतमा उपस्थित गराएको जनाएको छ।

