काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे नेदरल्यान्ड्सको उट्रेख्तस्थित मैदानमा सुरु हुनेछ।
शृंखलाको पहिलो खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको नेपाल आज पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। लगातारको प्रतिस्पर्धात्मक तालिकाबीच नेपालका लागि यो खेल महत्वपूर्ण मानिएको छ।
नेपालले लिग–२ अन्तर्गत जुलाई २७ मा पुनः नामिबियासँग तथा जुलाई २९ मा फेरि नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ।
हालसम्म २९ खेलबाट २४ अंक जोडेको नेपाल अंकतालिकाको पाँचौँ स्थानमा छ। समान खेलबाट २४ अंक नै भए पनि कमजोर रनरेटका कारण नामिबिया छैटौँ स्थानमा रहेको छ। २८ खेल खेलेको नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा रहँदा ओमान ३१ अंकसहित चौथो स्थानमा छ।
अंकतालिकाको शीर्षमा अमेरिका ४३ अंकसहित रहेको छ भने स्कटल्यान्ड ३८ अंकका साथ दोस्रो स्थानमा छ। क्यानडा २४ अंकसहित सातौँ तथा युएई १४ अंकका साथ पुछारमा छ।
लिगको शीर्ष चारभित्र स्थान बनाउने लक्ष्यलाई जीवित राख्न नेपाललाई बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण अंक बटुल्नुपर्ने दबाब छ।

