काठमाडौं, असोज २५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट डा. डिला संग्रौला पार्टीको इतिहासमै पहिलो महिला महामन्त्रीमा निर्वाचित भएकी छन्।
महामन्त्री पदको महिला क्लस्टरतर्फ भएको निर्वाचनमा संग्रौलाले ३ हजार ११८ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ ले २ हजार ८६४ मत प्राप्त गर्दा रीता खनालले ८०४ मत प्राप्त गरिन्।
कांग्रेसले यसपटक विधान संशोधन गरी महामन्त्री पदमा महिलाका लागि छुट्टै क्लस्टरको व्यवस्था गरेको थियो। सोही व्यवस्थाअनुसार भएको निर्वाचनबाट संग्रौला पार्टीको इतिहासमा पहिलो महिला महामन्त्री बन्न सफल भएकी हुन्।
संग्रौलाको निर्वाचित हुनुले नेपाली कांग्रेसको संगठनात्मक नेतृत्वमा महिलाको प्रतिनिधित्वका दृष्टिले ऐतिहासिक उपलब्धि हासिल भएको छ।

