काठमाडौं । बाढीपहिरोबाट प्रभावित नेपालमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन अस्ट्रेलियन एयरफोर्सको विमान राहत सामग्री, आवश्यक उपकरण तथा जनशक्तिसहित नेपाल आउँदैछ।
अस्ट्रेलियाले नेपालमा आएको विनाशकारी बाढीपछि मानवीय सहायता बढाउँदै उद्धार तथा राहत कार्यमा सहयोग गर्न थप जनशक्ति र आवश्यक सामग्री परिचालन गरेको हो।
अस्ट्रेलियन सरकारले बाढी प्रभावित समुदायका लागि आर्थिक सहायतासहित खाद्य सामग्री, आपत्कालीन आश्रय, सरसफाइ सामग्री, स्वास्थ्य तथा मनोसामाजिक सहयोग उपलब्ध गराउने जनाएको छ। साथै, विपद् प्रतिकार्यमा सहयोग गर्न मानवीय विशेषज्ञहरू समेत नेपाल पठाउने तयारी गरिएको छ।
भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाललाई राहत तथा उद्धार सहयोग उपलब्ध गराइरहेका छन्।
अस्ट्रेलियाले यस विपद्मा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि सहयोग केन्द्रित गरेको जनाएको छ।

