काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा जारी छ। देशभरबाट आएका नेता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूको सहभागितामा महाधिवेशन उद्घाटन समारोह आयोजना गरिएको हो।
कांग्रेसले यसपटकको महाधिवेशन ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आयोजना गरेको छ। उद्घाटन समारोहमा पार्टीका शीर्ष नेताहरू, विभिन्न दलका प्रतिनिधि तथा शुभेच्छुकहरूको सहभागिता रहेको छ।
उद्घाटन सत्र सम्पन्न भएपछि सोमबार र मंगलबार बन्दसत्रलगायतका अन्य कार्यक्रम सञ्चालन हुने कांग्रेसले जनाएको छ। बन्दसत्रमा पार्टीको नीति, संगठन तथा आगामी राजनीतिक दिशासहितका विषयमा छलफल हुने बताइएको छ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन प्रक्रिया सञ्चालन गरिने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। नेतृत्व चयनसँगै महाधिवेशनले पार्टीको आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

