काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युबराज दुलालले सरकारी तथा निजी क्षेत्रमा आबद्ध करार तथा ज्यालादारी कामदार, साना व्यवसायी र रोजगारविहीन युवामा बढ्दै गएको निराशाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
संसदमा बोल्दै सांसद दुलालले निरन्तर दोहोरिइरहेका आगजनी तथा आत्महत्याका प्रयासलाई केवल व्यक्तिगत घटनाका रूपमा मात्र नहेरी सामाजिक–आर्थिक संकटको अभिव्यक्तिका रूपमा बुझ्नुपर्ने बताएका छन्।
उनले यस्ता घटनालाई सरकारी तथा निजी निकायमा कार्यरत करार वा ज्यालादारी कामदार, साना व्यवसायी र रोजगारविहीन युवामा छाइरहेको गहिरो हताशा तथा व्यवस्थापकीय ढिलासुस्तीविरुद्धको मौन विरोधका रूपमा समेत हेर्नुपर्ने धारणा राखे।
“यस्ता घटनालाई राज्य संयन्त्र र औद्योगिक तथा व्यापारिक वृत्त दुवैले अत्यन्त संवेदनशीलताका साथ मनन गर्नुपर्छ,” सांसद दुलालले भने।
उनका अनुसार समस्याको तत्कालीन व्यवस्थापनसँगै यसको मूल कारण पहिचान गरी स्थायी तथा दूरगामी निकास खोज्न आवश्यक छ। त्यसका लागि सरकारले रोजगार सिर्जना, श्रमिक सुरक्षा, साना व्यवसायको संरक्षण तथा सेवा–सुविधासँग जोडिएका समस्यामा तत्काल ठोस पहल गर्नुपर्ने उनले बताए।
सांसद दुलालले निराशा र आक्रोशलाई समयमै सम्बोधन गर्न नसकिए यस्ता घटनाले थप गम्भीर सामाजिक समस्या निम्त्याउन सक्ने भन्दै सरकार र सम्बन्धित निकायलाई संवेदनशील भएर प्रभावकारी कदम चाल्न आग्रह गरे।

