काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज पार्टीका संस्थापक नेता तथा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस छुट्टै रूपमा मनाउँदै आफ्नो समूहको राष्ट्रिय भेलाको मिति घोषणा गर्ने जनाएको छ।
गत शनिबार १५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालयमा नेपाली कांग्रेसका केन्द्रीय निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित निवर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले पार्टीभित्र सुदृढ एकता कायम गर्दै नेपाली जनताको स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको संरक्षणका लागि नीतिगत बहस र छलफलमार्फत नयाँ कार्यदिशा तय गर्न साउन महिनाभित्रै काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने निष्कर्ष निकालेको थियो।
सोही निर्णयअनुसार राष्ट्रिय भेलाको मिति, समय र स्थान आज आयोजना हुने बीपी स्मृति दिवसको कार्यक्रमबाट सार्वजनिक गरिने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिएका हुन् ।
बीपी स्मृति दिवसका अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान (प्रज्ञा भवन) मा विशेष समारोह आयोजना गरिएको छ। कार्यक्रमको संयोजन नेपाली कांग्रेसका पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले गरेका छन् ।

