गण्डकी — जल तथा मौसम विज्ञान विभागले आइतबार, सोमबार गण्डकी प्रदेशका पहाडी क्षेत्रमा अति भारी वर्षाको सम्भावना औँल्याएपछि प्रदेशका आठ जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिने भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार जारी गरेको सूचनाअनुसार कास्की, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, बागलुङ, पर्वत र म्याग्दी जिल्लामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।
प्राधिकरणले अत्यावश्यक कामबाहेक घरबाट टाढा ननिस्कन, विशेषगरी रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। निरन्तर वर्षासँगै जुनसुकै बेला बाढी, पहिरो तथा अन्य विपद्का घटना हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायलाई निर्देशनसमेत दिइएको छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार आज र भोलि कास्कीबाट छुट्ने तथा जिल्ला हुँदै अन्य गन्तव्यतर्फ जाने सबै रात्रिकालीन यातायात सेवा पूर्ण रूपमा बन्द रहनेछ। उनले सम्भावित विपद्को सामना गर्न जिल्लाका सुरक्षा तथा उद्धार संयन्त्र पूर्ण तयारी अवस्थामा राखिएको जानकारी दिए।

