काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी रहेको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार साँझदेखि सुरु भएको मतगणनामा १ हजार १७९ मत गणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र खुला महामन्त्रीमा प्रदीप पौडेलले बढी मत प्राप्त गरेका छन्।
उपसभापतिमा चन्द्रकान्त भण्डारीलाई ६२३ मत
खुला उपसभापतितर्फको मतगणनामा डा. चन्द्रकान्त भण्डारीले ६२३ मत प्राप्त गरेका छन्। इन्जिनियर मधु आचार्यले ३४३, गोविन्द भट्टराईले २९१, सुरेन्द्रराज पाण्डेले २८९, दीपक गिरीले २४२, धनराज गुरुङले २११ र प्रा.डा. चन्द्रमोहन यादवले १२६ मत पाएका छन्।
समावेशी उपसभापतितर्फ विनोदकुमार चौधरीले ३४७ मत प्राप्त गरेका छन्। जीवन परियारले २८७, फरमुल्लाह मन्सुरले १६४, सीता गुरुङले १५१ र रञ्जित कर्णले ९८ मत पाएका छन्।
महामन्त्रीमा प्रदीप पौडेल अगाडि
खुला महामन्त्री पदमा प्रदीप पौडेलले ६५३ मत प्राप्त गरेका छन्। अमरसिंह पुन मगरले ४३६, उदयशमशेर राणाले ३६६, डा. सुनिलकुमार शर्माले २८८, गुरुराज घिमिरेले १६३, नैनसिंह महरले १२२, शंकर तिवारीले १८ र डा. सन्तोष उपाध्यायले १६ मत पाएका छन्।
महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) ले ५२३ मत प्राप्त गरेकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले ४८४ र रीता खनालले १३९ मत पाएकी छन्।
उपसभापतिमा तीन र महामन्त्रीमा तीन जना निर्वाचित हुने
निर्वाचन व्यवस्थाअनुसार उपसभापति पदमा खुलातर्फ दुई र समावेशी समूहबाट एक जना निर्वाचित हुनेछन्। महामन्त्री पदमा खुलातर्फ दुई र महिलातर्फ एक जना गरी तीन जना निर्वाचित हुनेछन्।
यसअघि वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन्। सभापति पदमा गगनकुमार थापा शुक्रबार बिहानै बहुमतसहित विजयी भइसकेका छन्।
त्यसैगरी काठमाडौं उपत्यकाका तर्फबाट महिला केन्द्रीय सदस्यमा डा. अस्मिता शाक्य प्रधान निर्विरोध निर्वाचित भएकी छन्।
उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएपछि सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदको मतगणना सुरु गर्ने तयारी रहेको छ। मतगणना जारी रहेकाले हाल सार्वजनिक मतपरिणाम प्रारम्भिक हो। अन्तिम नतिजा निर्वाचन समितिको औपचारिक घोषणापछि मात्र यकिन हुनेछ।

