तोमनाथ उप्रेती
साहित्य मानव सभ्यताको सबैभन्दा सूक्ष्म चेतनाको आदिम कम्पन, अस्तित्वको मौन प्रतिध्वनि र आत्माको अनन्त यात्राको भाषिक अवतार हो। मानिसले पहिलो पटक ताराले भरिएको आकाशतर्फ दृष्टि उठाउँदै आफ्नै अस्तित्वमाथि प्रश्न गरेको क्षणदेखि साहित्यको बीजारोपण भएको थियो। किनकि साहित्यको जन्म उत्तरबाट होइन, प्रश्नबाट हुन्छ। “म को हुँ?”, “म किन अस्तित्वमा छु?”, “दुःखको प्रयोजन के हो?”, “प्रेम किन अपरिहार्य छ?”, “मृत्यु अन्त्य हो कि अर्को आरम्भ?”, “सत्य के हो?” यस्ता सनातन प्रश्नहरूले नै साहित्यलाई मनोरञ्जनको क्षणिक सीमाभन्दा माथि उठाएर दर्शन, आध्यात्मिकता र मानवीय आत्मबोधको विराट क्षितिजमा प्रतिष्ठित गरेका छन्।
साहित्य अन्तर्जगतको तीर्थयात्रा हो। यो मानव हृदयका अदृश्य तहहरूमा लुकेका भय, एकान्त, प्रेम, अपराधबोध, करुणा, विद्रोह, स्मृति, आकांक्षा र मुक्तिको अनाम स्पन्दनलाई शब्द दिने अद्वितीय कला हो। त्यसैले महान् साहित्य पढ्दा पाठकले आफ्नै आत्माको प्रतिध्वनि सुन्छ। पात्रका आँसुमा आफ्नै अव्यक्त वेदना भेट्छ, पात्रको मौनतामा आफ्नै अपूर्णता अनुभव गर्छ र पात्रको संघर्षमा आफ्नै अस्तित्वको अर्थ खोज्न थाल्छ। साहित्यले मानिसलाई संसार बुझाउनु मात्र होइन, आफूलाई चिन्ने दुर्लभ क्षमता पनि प्रदान गर्छ।
यही कारणले साहित्य समय, भूगोल, भाषा र सभ्यताको सीमाभन्दा परको सार्वभौम सत्य बन्छ। युगहरू फेरिन्छन्, साम्राज्यहरू पतन हुन्छन्, विचारधाराहरू परिवर्तन हुन्छन्, तर मानव आत्माको व्याकुलता, प्रेमको पवित्रता, पीडाको गहिराइ र अर्थको खोज अपरिवर्तित रहन्छ। साहित्यले यही शाश्वत मानवीय अनुभवलाई कालजयी बनाउँछ। दार्शनिक दृष्टिले हेर्दा साहित्य अस्तित्वको सौन्दर्यमय व्याख्या हो। दर्शनले तर्कमार्फत सत्यको अन्वेषण गर्छ। साहित्यले अनुभूति, संवेदना र कल्पनाशक्तिमार्फत त्यही सत्यलाई जीवित अनुभवमा रूपान्तरण गर्छ। दर्शनले सत्यलाई प्रमाणित गर्न खोज्छ। साहित्यले सत्यलाई अनुभूत गराउँछ। प्लेटोले आदर्शको अमूर्त संसारमा सत्यको खोज गरे भने फ्योदोर दोस्तोयेभ्स्कीले अपराध, पश्चात्ताप, विश्वास, पीडा र आत्मिक विघटनका अन्धकारभित्र मानव आत्माको उज्यालो खोजे।
फ्रिड्रिख नीत्शेले “ईश्वर मरिसकेको छ” भन्ने उद्घोषमार्फत आधुनिक मानिसको आध्यात्मिक रिक्तता र मूल्य–संकटलाई उद्घाटित गरे भने टी. एस. इलियटले आधुनिक सभ्यताको विखण्डन, आध्यात्मिक मरुभूमि र उद्धारको तृष्णालाई कविताको अनश्वर लयमा रूपान्तरण गरे। यसरी साहित्य दर्शनको भावनात्मक प्रतिरूप, चेतनाको सौन्दर्यमय अभिव्यक्ति र आत्माको मौन भाषा हो। दर्शन जहाँ सिद्धान्तमा समाप्त हुन्छ, साहित्य त्यहाँबाट अनुभूतिको अनन्त यात्रा आरम्भ गर्छ। त्यसैले महान् साहित्य पढ्नु केवल शब्दसँग साक्षात्कार गर्नु होइन; आफ्नै अस्तित्व, आफ्नै विवेक र आफ्नै आत्मासँग गहिरो संवाद गर्नु हो।
आध्यात्मिक दृष्टिबाट साहित्य आत्मा र ब्रह्माण्डबीच निरन्तर चलिरहने मौन संवाद हो। यो दृश्य जगत्को वर्णन हो। अदृश्य चेतनाको अन्वेषण हो। शब्दहरूको संरचना हो। आत्माको स्पन्दन हो। महान् साहित्यले मानिसलाई भौतिक उपलब्धिको क्षणभंगुर आकर्षणबाट उठाएर आत्मबोधको अनन्त यात्रातर्फ डोर्याउँछ। यसले बाहिरी संसारलाई परिवर्तन गर्नुभन्दा पहिले मानिसलाई आफ्नै अन्तर्मनसँग साक्षात्कार गराउँछ। त्यसैले साहित्यको सर्वोच्च उपलब्धि आत्म–रूपान्तरण हो। जब पाठक कुनै महान् कृतिसँग जोडिन्छ, ऊ आफ्नै चेतनाका अज्ञात तहहरूमा अवतरण गरिरहेको हुन्छ। साहित्यले यही कारण मानिसलाई बाह्य वस्तुहरूको उपभोक्ताबाट अन्तःचेतनाको साधकमा रूपान्तरण गर्छ।
हर्मन हेसेको सिद्धार्थ यस आध्यात्मिक साहित्यिक परम्पराको अनुपम उदाहरण हो। यस कृतिमा नदी समय, चेतना, पुनर्जन्म, मौनता र अनन्त अस्तित्वको जीवित प्रतीक हो। नदी निरन्तर बग्छ, तर आफ्नो मौलिक स्वरूप गुमाउँदैन ठीक त्यसरी नै चेतनाको मूल प्रवाह परिवर्तनका असंख्य तरङ्गबीच पनि शाश्वत रहन्छ। सिद्धार्थको यात्रा कुनै भौगोलिक यात्राभन्दा बाह्य ज्ञानबाट अन्तर्ज्ञानतर्फ, सिद्धान्तबाट अनुभूतितर्फ, शब्दबाट मौनतातर्फ धेरै गहिरो आत्मयात्रा हो । उपनिषद् र बौद्ध दर्शनको गहन प्रभावले निर्मित यस कृतिले मुक्ति कुनै बाह्य गुरु, सिद्धान्त वा संस्थाबाट प्राप्त हुने वस्तु होइन, आफ्नै अनुभव, आत्मअनुभूति र अन्तःप्रकाशबाट प्राप्त हुने चेतनाको अवस्था हो भन्ने उद्घोष गर्छ। हेसेले देखाएका छन् कि सत्य सिकाइँदैन, केवल बाँचिन्छ; आत्मज्ञान दिइँदैन, केवल अनुभूत गरिन्छ।
रवीन्द्रनाथ ठाकुरको साहित्यमा आध्यात्मिकता प्रेम, करुणा, प्रकृति र विश्वमानवतावादको अखण्ड आलोक हो। उनका गीत, कविता र निबन्धहरूमा ईश्वर कुनै कठोर धार्मिक संरचनामा सीमित सत्ता होइन, सम्पूर्ण सृष्टिमा व्याप्त जीवनशक्ति, सौन्दर्य र प्रेमको सार्वभौम उपस्थिति हुन्। गीताञ्जलीका प्रत्येक पङ्क्तिमा मानव आत्मा र अनन्त चेतनाबीचको समर्पित संवाद ध्वनित हुन्छ। ठाकुरका लागि मानवता जात, धर्म, भाषा र राष्ट्रका कृत्रिम सीमाभन्दा उच्च मूल्य हो। उनले साहित्यलाई आत्मिक स्वतन्त्रता, विश्व–एकता र सार्वभौमिक करुणाको साधन बनाए। उनका कृतिहरूले पाठकलाई विभाजनको मानसिकताबाट मुक्त गर्दै समग्र अस्तित्वसँग तादात्म्य स्थापित गर्ने आध्यात्मिक चेतना प्रदान गर्छन्।
समकालीन विश्वसाहित्यका नोबेल पुरस्कार विजेता जोन फोसेका लेखनमा मौनता स्वयं प्रार्थनाको स्वरूप ग्रहण गर्छ। उनका पात्रहरू बाह्य घटनाक्रमभन्दा धेरै आफ्नै अन्तर्मनको सूक्ष्म कम्पन, स्मृति, प्रतीक्षा र अस्तित्वगत एकान्तभित्र बाँचिरहेका हुन्छन्। सेप्टोलोजीमा अत्यन्त न्यून विरामचिह्न, लयात्मक पुनरावृत्ति र अविरल वाक्यप्रवाहले चेतनाको अबाध गतिलाई कलात्मक रूप दिन्छ। त्यहाँ कथानक गौण हुन्छ। अनुभूति प्रधान हुन्छ। प्रत्येक वाक्य ध्यानको श्वासजस्तै बग्छ, प्रत्येक मौनता प्रार्थनाजस्तै प्रतिध्वनित हुन्छ। फोसेको साहित्यले मौनताको भाषासँग परिचित गराउँछ। त्यहाँ शब्दभन्दा धेरै मौन बोलिरहेको हुन्छ, र त्यही मौनतामा आत्माको सबैभन्दा गहिरो आवाज सुनिन्छ।
महान् साहित्यको अर्को विशिष्ट शक्ति यसको प्रतीकात्मक गहिराइमा निहित हुन्छ। साहित्य प्रत्यक्ष अर्थको सीमाभन्दा पर गएर अप्रत्यक्ष संकेत, बिम्ब र प्रतीकमार्फत अस्तित्वका सूक्ष्म सत्यहरू उद्घाटित गर्छ। अन्धकार मानव आत्माको अन्योल, भय वा आध्यात्मिक रिक्तताको प्रतीक पनि हुन सक्छ। समुद्र अनन्तता, अचेतन मन वा ब्रह्माण्डीय रहस्यको रूपक हुन सक्छ। नदी समयको प्रवाह हो, पर्वत स्थायित्वको, वृक्ष जीवनचक्रको र आगो शुद्धीकरण तथा पुनर्जन्मको। यही बहुस्तरीय प्रतीकात्मकताले साहित्यलाई अनन्त अर्थ–सम्भावनाले सम्पन्न बनाउँछ। सामान्य पाठकले कथाको घटनाक्रम देख्छ। संवेदनशील पाठकले पात्रको मनोविज्ञान देख्छ; तर गहन पाठकले ती सबैभित्र लुकेका चेतनाका तह, दार्शनिक संकेत र आध्यात्मिक अनुभूतिहरूको अन्वेषण गर्छ।
विश्वसाहित्यका महान् स्रष्टाहरूले साहित्यलाई घटनाको अभिलेख होइन, चेतनाको अनन्त यात्राको सौन्दर्यमय अभिव्यक्ति बनाएका छन्। अष्ट्रेलियाली नोबेल विजेता प्याट्रिक ह्वाइटका पात्रहरू बाहिरी संसारसँगभन्दा आफ्नै अन्तर्मनसँग बढी संघर्षरत देखिन्छन्। उनका उपन्यासहरूमा सामाजिक यथार्थभन्दा गहिरो अस्तित्वगत एकान्त, आध्यात्मिक पीडा र आत्म–साक्षात्कारको आकांक्षा केन्द्रमा रहन्छ। पात्रहरू बाह्य सफलताभन्दा सत्यको आन्तरिक प्रकाश खोजिरहेका हुन्छन्। ह्वाइटका लागि जीवनको सबैभन्दा ठूलो युद्ध आफ्नै चेतनासँग हुन्छ र विजय पनि आत्मबोधमा निहित हुन्छ।
त्यसैगरी, गाब्रियल गार्सिया मार्केसले स्मृति, मिथक, इतिहास र यथार्थलाई जादुई यथार्थवादको अनुपम कलात्मक संरचनामा रूपान्तरण गर्दै साहित्यलाई सभ्यताको सामूहिक स्मृतिको दार्शनिक आख्यान बनाए। एक सय वर्षको एकान्तमा म्याकोन्डो सम्पूर्ण मानव सभ्यताको प्रतीकात्मक चेतनाभूमि हो। बुएन्दिया परिवारका सात पुस्ताको कथा वास्तवमा मानव इतिहास, नियति, स्मृति, हिंसा, प्रेम र एकान्तको चक्रात्मक यात्राको रूपक हो। यहाँ समय रेखीय छैन वृत्ताकार छ। इतिहास केवल बित्दैन, दोहोरिन्छ। मिथक र यथार्थ, स्वप्न र जागृति, जीवन र मृत्युबीचको सीमारेखा क्रमशः विलीन हुँदै जान्छ। यही जादुई यथार्थवादले उपन्यासलाई सामाजिक आख्यानको सीमाभन्दा माथि उठाएर मानव अस्तित्वको गहन दार्शनिक र आध्यात्मिक विमर्शमा रूपान्तरण गर्छ। मार्केसले देखाउँछन् कि सभ्यता स्मृतिहरूको जीवित ब्रह्माण्ड हो, जहाँ प्रत्येक पुस्ताले आफ्ना पूर्वजहरूको अधूरो नियतिलाई पुनः बाँचिरहेको हुन्छ।
यसरी हेर्दा महान् साहित्य अन्ततः मानव आत्माको तीर्थयात्रा हो। यसले उत्तरहरू थोपर्दैन; प्रश्नहरूलाई अझ गहिरो बनाउँछ। यसले सिद्धान्त निर्माण गर्दैन; अनुभूतिको क्षितिज विस्तार गर्छ। यसले पाठकलाई संसारभित्र आफूलाई र आफूभित्र सम्पूर्ण ब्रह्माण्डलाई देख्न सक्ने दृष्टि प्रदान गर्छ। यही कारण साहित्य आत्मचेतनाको साधना, अस्तित्वको ध्यान र मानवताको शाश्वत आध्यात्मिक अभिलेख हो।
अल्बेयर कामुले अर्थहीन, मौन र उदासीन ब्रह्माण्डका बीच पनि मानवीय गरिमा, नैतिक साहस र विद्रोही चेतनाको अद्वितीय दर्शन निर्माण गरे। उनका लागि जीवनको मूल्य यसको अन्तिम उत्तरमा होइन, उत्तरहीनताको बीच पनि अर्थ सिर्जना गर्ने मानवीय क्षमतामा निहित छ। द मिथ अफ सिसिफसमा सिसिफस अनन्तकालसम्म चट्टान उकालो धकेल्न अभिशप्त छ, तर कामुका लागि ऊ पराजित पात्र होइन; ऊ अब्सर्ड अवस्थालाई स्वीकार गरेर पनि आत्मसमर्पण नगर्ने स्वाधीन चेतनाको प्रतीक हो। द स्ट्रेन्जरका मोर्सो वा द प्लेगका डा. रियूले पनि अर्थहीन संसारमा अर्थ खोज्दैनन् बरु अन्याय, मृत्यु र निरर्थकताका विरुद्ध आफ्नो मानवीय उत्तरदायित्व निर्वाह गरेर जीवनलाई गरिमा प्रदान गर्छन्। यही कारण कामुको साहित्य अस्तित्ववादी निराशाको आख्यान होइन; प्रतिकूलताका बीच पनि मानवीय अस्मिताको विजयगाथा हो। महान् साहित्य यहींबाट कथा वा घटनाको सीमालाई पार गर्दै मानव आत्माको अनन्त प्रतिध्वनिमा रूपान्तरित हुन्छ।
यही कारण एक उत्कृष्ट पुस्तक–समीक्षा कथावस्तुको सारांश, पात्रहरूको सामान्य मूल्याङ्कन वा लेखकको प्रशंसामा सीमित रहन सक्दैन। वास्तविक समीक्षा विचारको पुनर्जन्म हो। कृतिभित्र सुप्त अवस्थामा रहेको दार्शनिक कम्पन, आध्यात्मिक संकेत, अस्तित्वगत द्वन्द्व, सांस्कृतिक स्मृति र चेतनाका सूक्ष्म तहहरूको पुनःअन्वेषण हो। समीक्षक पाठ, लेखक र पाठकबीचको चेतनात्मक सेतु हो। उसको दायित्व कृतिमा लुकेको अर्थलाई त्यसका अदृश्य आयामहरूलाई प्रकाशमा ल्याउनु हो। यदि कुनै नेपाली कृतिले अस्तित्व, मृत्यु, एकान्त, अपराधबोध, मुक्ति, नियति वा आत्मअन्वेषणका प्रश्नसँग संघर्ष गरिरहेको छ भने समीक्षकले पात्रको आत्मिक संकट, मौन प्रतिरोध, आध्यात्मिक रूपान्तरण र ब्रह्माण्डसँगको सम्बन्धलाई उजागर गर्न सक्नुपर्छ। कुनै पात्रले घर छोड्नु अहंकारको विसर्जन, मोहको परित्याग र आत्म–साक्षात्कारको आध्यात्मिक आरम्भ पनि हुन सक्छ।
महान् साहित्यको समीक्षा गर्दा समीक्षकले घटनाको सतहभन्दा धेरै गहिरो तहमा प्रवेश गर्नुपर्छ। उसले शब्दभित्रको मौनता सुन्नुपर्छ, रिक्तताभित्रको प्रतिध्वनि अनुभव गर्नुपर्छ र प्रतीकभित्र सुप्त चेतनालाई पहिचान गर्नुपर्छ। महान् साहित्यको केन्द्रमा “के भयो?” भन्ने प्रश्नभन्दा “किन भयो?”, “यो किन अपरिहार्य थियो?”, “यसले मानव अस्तित्वबारे के उद्घाटन गर्छ?” भन्ने प्रश्नहरू हुन्छन्। स्मृति, स्वप्न, समय, प्रतीक, मौनता र चेतनाप्रवाह यस्ता कृतिहरूमा एकअर्कासँग विलीन हुन्छन्। त्यसैले समीक्षा संवेदनाको पुनःसिर्जना, अनुभूतिको पुनःव्याख्या र चेतनाको पुनःप्रकाशन हो।
समीक्षकले भाषाको लय, प्रतीकात्मक संरचना, बिम्ब, मौनता, भाव–सघनता र शैलीगत सूक्ष्मतालाई समग्र रूपमा ग्रहण गर्नुपर्छ। यदि लेखकले प्रकृतिलाई मानव–चेतनाको विस्तारका रूपमा प्रयोग गरेका छन् भने त्यसको दार्शनिक आशय उद्घाटन गर्नुपर्छ। यदि भाषामा सूफी प्रेमको उन्माद, वैदिक अद्वैतको प्रकाश, बौद्ध शून्यताको मौनता वा रहस्यवादी चेतनाको स्पन्दन विद्यमान छ भने त्यसलाई चिनाउनु समीक्षकको बौद्धिक तथा सौन्दर्यात्मक उत्तरदायित्व हो।
यही दृष्टिले हेर्दा विलियम फोकनरका कृतिहरू आधुनिक साहित्यमा चेतनाको जटिल संरचनाका अनुपम उदाहरण हुन्। उनका उपन्यासहरूमा समय स्मृति, वर्तमान र अतीत एकै चेतनात्मक प्रवाहमा मिसिन्छन्। द साउन्ड एन्ड द फ्युरी वा एज आइ ले डाइङमा पात्रहरू वर्तमान क्षणमा बाँचिरहेका जस्तो देखिए पनि वास्तवमा उनीहरू आफ्नै स्मृति, अपराधबोध, विगतका घाउ र समयको विखण्डित अनुभवका कैदी हुन्छन्। चेतनाप्रवाह, बहुवाचिक दृष्टिकोण र समयको विच्छिन्न संरचनाले बाहिरी घटनालाई भन्दा भित्री अनुभवलाई महत्त्व दिन्छ। यही कारण महान् साहित्यमा कथानक घटनाहरूको क्रमबद्ध अनुक्रम मात्र हुँदैन; त्यो चेतनाको तहगत संरचना, स्मृतिको वास्तुकला र आत्माको समय–अनुभव बन्छ। यदि समीक्षकले यी संरचनागत जटिलताहरू नबुझेमा समीक्षा घटनाको सतहमा सीमित भई कृतिको वास्तविक गहिराइबाट वञ्चित हुन्छ। उत्कृष्ट समीक्षाले कथानकको गति, समयको दार्शनिक प्रयोग, स्मृतिको संरचना, मौनताको कार्य, प्रतीकहरूको अन्तर्सम्बन्ध र पात्रहरूको आन्तरिक यात्रालाई सम्यक् रूपमा विश्लेषण गर्नुपर्छ।
महान् साहित्यमा भाषा अर्थ सञ्चार गर्ने माध्यम मात्र हुँदैन त्यो अनुभूति, वातावरण र चेतनाको निर्माण गर्ने सृजनात्मक शक्ति हुन्छ। कुनै एउटा शब्दले सम्पूर्ण युगको पीडा बोकेको हुन सक्छ। कुनै एउटा मौनताले सयौँ संवादभन्दा गहिरो प्रेम व्यक्त गरेको हुन सक्छ। त्यसैले साहित्यिक समीक्षाले भाषाको सङ्गीतात्मकता, लय, ध्वन्यात्मकता, प्रतीकात्मकता, बिम्बयोजना, अनुप्रास, मौनता र भाव–सघनतालाई सूक्ष्म रूपमा समेट्नुपर्छ। भाषामा सूफी आध्यात्मिकताको उन्माद, वैदिक अद्वैत चेतनाको प्रकाश, बौद्ध शून्यवादको मौन विस्तार वा अस्तित्ववादको गहिरो व्याकुलता विद्यमान छ भने त्यसको सौन्दर्यात्मक र दार्शनिक व्याख्या गर्नु समीक्षा कर्मको अनिवार्य दायित्व हो। किनकि महान् साहित्य प्रत्यक्षभन्दा अप्रत्यक्षमा, कथनभन्दा संकेतमा, शब्दभन्दा मौनतामा र दृश्यभन्दा अदृश्यमा बढी बोल्छ।
साहित्य समीक्षा कुनै कृतिसँग गरिएको बौद्धिक, सौन्दर्यात्मक र आध्यात्मिक संवाद हो। उत्कृष्ट समीक्षकले लेखकले लेखेका शब्दहरू मात्र पढ्दैन उनले नलेखेका मौनताहरू पनि सुन्छ। उनले कथानक मात्र बुझ्दैन; चेतनाको अदृश्य नक्सा पनि देख्छ। उनले पात्रको व्यवहार मात्र व्याख्या गर्दैन; त्यस व्यवहारभित्र धड्किरहेको अस्तित्वगत प्रश्नलाई पनि उद्घाटित गर्छ। यही क्षमताले समीक्षा आलोचना मात्र नभई सहसिर्जना बन्छ। जब समीक्षाले कृतिको दार्शनिक गहिराइ, आध्यात्मिक उचाइ, प्रतीकात्मक संरचना र मानवीय संवेदनाको विराट आयाम उद्घाटन गर्छ, तब समीक्षा स्वयं एउटा स्वतन्त्र साहित्यिक कृतिमा रूपान्तरित हुन्छ। महान् साहित्यलाई बुझ्नु अन्ततः मानव अस्तित्वलाई बुझ्नु हो र महान् साहित्यको समीक्षा गर्नु भनेको शब्दभित्र लुकेको आत्माको मौन प्रकाशलाई पाठकसम्म पुर्याउनु हो।
फ्रान्ज काफ्काको साहित्य आधुनिक सभ्यताको अस्तित्वगत असुरक्षाको सबैभन्दा गहिरो कलात्मक अभिव्यक्ति हो। उनका पात्रहरू अदृश्य प्रशासनिक शक्ति, अव्याख्येय व्यवस्था, निरन्तर प्रतीक्षा र अज्ञात अपराधबोधको भूलभुलैयाभित्र कैद छन्। द ट्रायल, द क्यासल र बिफोर द ल जस्ता कृतिहरूमा ढोका अस्वीकृति, अनन्त प्रतीक्षा, पहुँचहीन सत्य र मानव अस्तित्वको असहायताको विराट प्रतीक हो। काफ्काको संसारमा मानिसले खोजेको न्याय सधैँ केही दूरीमा रहन्छ, र उत्तर खोज्ने प्रत्येक प्रयास अझ गहिरो अन्योलमा रूपान्तरित हुन्छ। यही कारण काफ्काको साहित्य आधुनिक मानव चेतनाको भय, एक्लोपन र अर्थको खोजको शाश्वत रूपक बनेको छ।
यही बहुस्तरीय प्रतीकात्मकताले महान् साहित्यलाई कालातीत बनाउँछ। नदी चेतना, समय र जीवनको निरन्तरताको प्रतीक हो। अन्धकार अज्ञान, भय वा आध्यात्मिक रिक्तताको संकेत हुन सक्छ। आगो शुद्धीकरण, पुनर्जन्म र रूपान्तरणको ऊर्जा पनि हो। वन अवचेतन मनको रहस्यमय प्रदेश हुन सक्छ भने समुद्र अनन्तता, अज्ञात र ब्रह्माण्डीय गहिराइको प्रतीक हो। चरा स्वतन्त्र चेतनाको उडान हो। धुलो नश्वरताको स्मरण हो। मौनता आत्माको भाषा हो। यदि कुनै नेपाली कृतिमा पहाडलाई स्थायित्व र धैर्यको, नदीलाई जीवन चेतनाको, गाईलाई मातृत्व र करुणाको, मठलाई आध्यात्मिक अनुशासनको, जंगललाई अवचेतन मनको, धूपलाई प्रार्थनाको वा गाउँलाई सांस्कृतिक स्मृति र सामूहिक पहिचानको प्रतीकका रूपमा प्रयोग गरिएको छ भने समीक्षकले ती प्रतीकहरूको सांस्कृतिक, दार्शनिक र आध्यात्मिक अर्थ उद्घाटित गर्न सक्नुपर्छ। यिनै सूक्ष्म व्याख्याले समीक्षालाई सामान्य टिप्पणीबाट बहुआयामिक बौद्धिक विमर्शमा रूपान्तरित गर्छ।
वास्तवमा दार्शनिक आयाम उत्कृष्ट साहित्यिक समीक्षाको मेरुदण्ड हो। महान् साहित्यले सधैँ कुनै न कुनै दार्शनिक परम्परासँग संवाद गरिरहेको हुन्छ। कतै अस्तित्ववादको व्याकुलता हुन्छ, कतै बौद्ध शून्यवादको मौनता, कतै वेदान्तीय अद्वैतको ब्रह्म–चेतना, कतै सूफी प्रेमदर्शनको आत्मविलय। समीक्षकले यी दार्शनिक तहहरू पहिचान गर्न सके मात्र कृतिको वास्तविक गहिराइ उद्घाटित हुन्छ। किनकि साहित्य मानिस, समय, इतिहास र ब्रह्माण्डबीच निरन्तर चलिरहने अर्थ–संवाद हो।
अल्बेयर कामुको द स्ट्रेन्जरका मेर्सो समाजले निर्माण गरेका कृत्रिम नैतिक प्रतिमानभन्दा बाहिर उभिएका पात्र हुन्। उनी भावनाशून्य देखिए पनि वास्तवमा आधुनिक मानिसको अस्तित्वगत रिक्तता, मूल्यसंकट र सामाजिक अलगावका प्रतिनिधि हुन्। त्यसैगरी फ्योदोर दोस्तोयेभ्स्कीका पात्रहरू अपराध, विश्वास, पाप, पश्चात्ताप र मोक्षबीचको अन्तहीन संघर्षमा बाँच्छन्। अपराध र सजायमा रोडियन रस्कोलनिकोभको हत्या कुनै सामान्य अपराध होइन त्यो मानव अहंकार, नैतिक अतिक्रमण र आत्मिक पतनमाथिको दार्शनिक प्रयोग हो। आफूलाई नैतिक नियमभन्दा माथि रहेको विशेष व्यक्ति ठान्ने उसको विचार अन्ततः आफ्नै अन्तःकरणसँग पराजित हुन्छ। उसले भोग्ने मानसिक विघटन बाहिरी कानुनी सजायभन्दा धेरै गहिरो आत्मिक दण्ड हो। दोस्तोयेभ्स्कीले देखाउँछन् कि मानिसलाई सबैभन्दा कठोर सजाय अदालतले होइन, जागृत अन्तःकरणले दिन्छ।
लियो टोल्स्टोयले जीवनलाई नैतिक पुनर्जन्म र आत्मिक परिष्कारको यात्राका रूपमा हेरे। वार एन्ड पिसदेखि अन्ना कारेनिना र द डेथ अफ इभान इलिचसम्म उनका पात्रहरू बाह्य सफलता, शक्ति वा प्रतिष्ठाभन्दा धेरै आत्मिक सत्य, नैतिक जागरण र जीवनको वास्तविक अर्थको खोजमा संघर्षरत छन्। यही कारण टोल्स्टोयको साहित्य नैतिक दर्शनको जीवित प्रयोगशाला हो। एक सशक्त समीक्षाले यस्ता दार्शनिक दृष्टिहरूसँग तुलना गर्दै कृतिको वैचारिक संरचना मूल्याङ्कन गर्नुपर्छ। यदि पात्र कर्मयोगको चेतनामा बाँचेको छ भने त्यसलाई भगवद्गीताको निष्काम कर्मदर्शनसँग जोड्न सकिन्छ। यदि पात्रले अनित्यता, शून्यता र मौन रिक्तताको अनुभूति गरिरहेको छ भने त्यहाँ बौद्ध दर्शनको प्रभाव देख्न सकिन्छ। यदि प्रेम नै ईश्वर, सत्य वा आत्मविलयको मार्ग बनेको छ भने त्यहाँ सूफी रहस्यवादको सूक्ष्म स्पन्दन पहिचान गर्न सकिन्छ। यसरी समीक्षा साहित्य, दर्शन, मनोविज्ञान र आध्यात्मिक चेतनाबीचको बहुआयामिक संवादमा रूपान्तरित हुन्छ।
समीक्षामा आध्यात्मिक चेतनाको विश्लेषण विशेष महत्त्व राख्छ। आध्यात्मिकता आत्मा र ब्रह्माण्डबीचको अन्तर्सम्बन्धको प्रत्यक्ष अनुभूति हो। जोन फोसेका कृतिहरूमा मौनता स्वयं प्रार्थनाको भाषा बन्छ। उनका पात्रहरू घटनाभन्दा धेरै आन्तरिक कम्पन, प्रतीक्षा र आध्यात्मिक उपस्थितिमा बाँचिरहेका हुन्छन्। त्यहाँ मौनता शून्यता होइन अदृश्य उपस्थितिको सूक्ष्म ध्वनि हो। हर्मन हेसेले आत्मज्ञानलाई जीवनको केन्द्रमा स्थापित गरे भने श्रीअरविन्दले चेतनाको विकासलाई मानव सभ्यताको अन्तिम गन्तव्य माने। उनका अनुसार मानिस दिव्य चेतनातर्फ क्रमशः उन्मुख भइरहेको आध्यात्मिक सत्ता हो। त्यसैले कुनै कृतिमा ध्यान, करुणा, मौनता, निर्वाण, ब्रह्मानुभूति, आत्मसंघर्ष वा ईश्वरसँगको अन्तःसंवाद उपस्थित छ भने समीक्षकले त्यसको आध्यात्मिक नाडी समात्न सक्नुपर्छ। उत्कृष्ट समीक्षकले शब्द मात्र पढ्दैन; शब्दहरूबीचको मौनता पनि सुन्छ।
पात्र–विश्लेषण साहित्यिक समीक्षाको केन्द्रबिन्दु हो, किनकि पात्रहरू विचारका प्रतिनिधि मात्र होइनन् उनीहरू जीवित दर्शन हुन्। कुनै पात्र भौतिकवादी चेतनाको प्रतिनिधि हुन सक्छ, जसका लागि संसार उपभोगको क्षेत्र हो। अर्को पात्र आध्यात्मिक साधक हुन सक्छ, जसका लागि जीवन आत्मअन्वेषणको यात्रा हो। कुनै पात्र विद्रोही हुन सक्छ, जसले समाजका कृत्रिम संरचनाविरुद्ध अस्तित्वको स्वतन्त्रता खोजिरहेको हुन्छ। अर्को पात्र बाहिरबाट मौन देखिए पनि भित्र गहिरो आत्मिक उथलपुथलमा बाँचेको हुन सक्छ। दोस्तोयेभ्स्कीका रस्कोलनिकोभ अपराधपछि आत्मिक विघटनको चरम अवस्थासम्म पुग्छन्। कामुका पात्रहरू निरर्थक संसारमा पनि मानवीय गरिमाको रक्षा गर्छन्। रवीन्द्रनाथ ठाकुरका पात्रहरू प्रेम, करुणा र विश्वमानवतामा मुक्तिको सम्भावना देख्छन्। त्यसैले पात्रहरूको मनोविज्ञान, अन्तर्द्वन्द्व, विकासक्रम, नैतिक संकट र प्रतीकात्मक अर्थको सूक्ष्म विश्लेषणबिना कुनै समीक्षा पूर्ण हुन सक्दैन। महान् साहित्यमा सबैभन्दा ठूलो उद्घोष प्रायः पात्रको मौनतामै लुकेको हुन्छ।
सामाजिक यथार्थ पनि महान् साहित्यको अपरिहार्य आयाम हो। साहित्य व्यक्तिगत अनुभूतिको निजी अभिलेख मात्र होइन त्यो सामूहिक चेतना, ऐतिहासिक स्मृति र सांस्कृतिक अनुभवको जीवित दस्तावेज हो। मानिस इतिहास, राजनीति, संस्कृति, जातीय स्मृति र सामाजिक संरचनाको जटिल अन्तर्सम्बन्धभित्र बाँचिरहेको प्राणी हो। त्यसैले कुनै एक पात्रको पीडाभित्र प्रायः सम्पूर्ण युगको आवाज प्रतिध्वनित भइरहेको हुन्छ। टोनी मोरिसनले दासत्व, जातीय विभेद र ऐतिहासिक हिंसालाई राजनीतिक घटनाका रूपमा मात्र होइन; पीढी–पीढीमा सञ्चित आत्मिक घाउ, स्मृतिको अभिशाप र मानवीय गरिमाको संघर्षका रूपमा प्रस्तुत गरिन्। उनका पात्रहरू इतिहासको क्रूरताले थिचिएका छन्, तर उनीहरूको मौन प्रतिरोधमा स्मृतिको पुनरुद्धार, मातृत्वको करुणा, आत्मसम्मानको पुनःप्राप्ति र मानव आत्माको अदम्य जिजीविषा उजागर हुन्छ। यही कारण महान् साहित्यले सभ्यताको अन्तरात्मा अभिलेखित गर्छ।
अलेक्जेन्डर सोल्झेनित्सिनले साहित्यलाई मानव आत्माको नैतिक प्रतिरोधको दस्तावेजमा रूपान्तरित गरे। उनका कृतिहरूमा जेल विचारमाथिको नियन्त्रण, स्वतन्त्र चेतनामाथिको दमन र सत्यलाई मौन बनाउने सत्ताको संरचनात्मक हिंसाको प्रतीक हो। वन डे इन द लाइफ अफ इभान देनिसोभिच र द गुलाग आर्किपेलागोमा कैद शरीरको मात्र हुँदैन; कैद स्मृतिको, सत्यको र स्वतन्त्र विवेकको पनि हुन्छ। तर सोल्झेनित्सिनको साहित्यले एउटा दार्शनिक सत्य उद्घाटित गर्छ—सत्ताले शरीरलाई बाँध्न सक्छ, तर जागृत अन्तःकरणलाई पराजित गर्न सक्दैन। बाहिरी स्वतन्त्रता खोसिए पनि नैतिक चेतनाको अन्तिम क्षेत्र अझै मानिसभित्र सुरक्षित रहन्छ। यही कारण उनका पात्रहरूको संघर्ष राजनीतिक विद्रोह मात्र होइन; आत्माको स्वतन्त्रताको रक्षा गर्ने आध्यात्मिक प्रतिरोध पनि हो।
ओर्हान पामुकका उपन्यासहरू पूर्व र पश्चिम, परम्परा र आधुनिकता, इस्लामी सांस्कृतिक विरासत र युरोपेली आधुनिक चेतनाबीचको जटिल संवादका अद्वितीय साहित्यिक अभिव्यक्ति हुन्। उनका पात्रहरू विभाजित सभ्यताको प्रतिनिधि चेतना हुन्। उनीहरू न पूर्णतः आधुनिक हुन सक्छन्, न पूर्णतः परम्परागत; न पूर्णतः पूर्वीय, न पूर्णतः पाश्चात्य। यही पहिचानको द्विविधा उनीहरूको अस्तित्वगत पीडा बन्छ। पामुकको साहित्यले देखाउँछ कि सांस्कृतिक पहिचान स्थिर अवस्था होइन; इतिहास, स्मृति, धर्म, आधुनिकता र व्यक्तिगत अनुभवको निरन्तर पुनर्निर्माण हो। त्यसैले उनका कृतिहरू सांस्कृतिक संकटको कथा मात्र होइनन्; सभ्यताले आफ्नै अनुहार खोजिरहेको आत्मदर्पण पनि हुन्।
यही कारण सामाजिक यथार्थलाई केन्द्रमा राखेर लेखिएका कृतिहरूको समीक्षा केवल समाजशास्त्रीय टिप्पणीमा सीमित हुन सक्दैन। कुनै पनि सामाजिक यथार्थ अन्ततः मानव आत्माको यथार्थ पनि हो। भ्रष्टाचार केवल प्रशासनिक समस्या होइन; नैतिक चेतनाको क्षय हो। य

साहित्य मानव सभ्यताको सबैभन्दा सूक्ष्म चेतनाको आदिम कम्पन, अस्तित्वको मौन प्रतिध्वनि र आत्माको अनन्त यात्राको भाषिक अवतार हो। मानिसले पहिलो पटक ताराले भरिएको आकाशतर्फ दृष्टि उठाउँदै आफ्नै अस्तित्वमाथि प्रश्न गरेको क्षणदेखि साहित्यको बीजारोपण भएको थियो। किनकि साहित्यको जन्म उत्तरबाट होइन, प्रश्नबाट हुन्छ। “म को हुँ?”, “म किन अस्तित्वमा छु?”, “दुःखको प्रयोजन के हो?”, “प्रेम किन अपरिहार्य छ?”, “मृत्यु अन्त्य हो कि अर्को आरम्भ?”, “सत्य के हो?” यस्ता सनातन प्रश्नहरूले नै साहित्यलाई मनोरञ्जनको क्षणिक सीमाभन्दा माथि उठाएर दर्शन, आध्यात्मिकता र मानवीय आत्मबोधको विराट क्षितिजमा प्रतिष्ठित गरेका छन्।