काठमाण्डौ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज दिउँसो २ बजे प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएको छ। मंगलबार पत्रकार सम्मेलनमार्फत उहाँले सर्वोच्च अदालतको परमादेशपछि प्रक्रियागत तयारी पूरा भइसकेको जानकारी दिनुभएको छ ।
सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिए पनि परमादेशको पत्र मङ्गलबार दिउँसो ३ बजे मात्र प्राप्त भएकाले सोही आधारमा प्रदेशसभा सचिवालयलाई पत्र पठाइसकिएको यादवले बताउनुभयो ।
“अदालतको फैसलाअनुसार प्रक्रिया अघि बढ्छ। विश्वासको मत म नै पाउँछु,” मुख्यमन्त्री यादवको भनाइ छ। साथै मधेसमा एमालेले बनाएका सबै राजनीतिक संयोजनहरूले आफूलाई समर्थन गर्ने दाबी पनि उहाँले दोहोर्याउनु भयो ।
यादव प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता रहेकै आधारमा मुख्यमन्त्री नियुक्त भएका हुन् । अन्य दलहरूले बहुमतका दाबीका साथ सरकार बनाउन आग्रह गरे पनि तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले यादवलाई नै नियुक्त गरेकी थिइन्। यही निर्णयलाई लिएर विवाद चर्किएपछि भण्डारीलाई संघीय सरकारले सिफारिस गरी राष्ट्रपतिले पदमुक्त गरेका थिए।
यादवको नियुक्तिविरुद्ध ७४ जना प्रदेशसभा सदस्य सर्वोच्च अदालतमा पुगेका थिए। अदालतले यसअघि दीर्घकालीन असर पर्ने कुनै कदम नचलाउन अन्तरिम आदेश पनि दिएको थियो।
प्रदेशमा यादवको पक्षमा मतको अंकगणित कमजोर हुँदा आजको दिनबाट मधेस प्रदेशमा के हुने भन्ने जिज्ञासा आम सार्वसाधारणमा जगाएको छ ।

