काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम समयमै सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
कार्यालयले मंगलबार सूचना जारी गर्दै विभिन्न सरकारी निकायको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीलाई कालोसूचीमा समावेश गरिएको जनाएको हो।
एकदेखि तीन वर्षसम्म कालोसूचीमा परेका यी कम्पनीले तोकिएको अवधिभर कुनै पनि सरकारी सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
कालोसूचीमा पर्ने कम्पनीहरूमा सरोज कन्स्ट्रक्सन (सुनसरी), आरोग्य कन्स्ट्रक्सन प्रालि, शान्ति निर्माण सेवा प्रालि (ललितपुर), क्रेटर कन्स्ट्रक्सन प्रालि (भक्तपुर), कृष्टल एण्ड श्रवण निर्माण सेवा (काठमाडौँ) र श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि (हेटौँडा) रहेका छन्।
कार्यालयले प्रत्येक कम्पनीको कालोसूची अवधि तथा निर्णयसम्बन्धी विस्तृत विवरणसमेत सार्वजनिक गरेको छ।


