काठमाडौं । मौसम विज्ञान विभागले असोज ९ गतेदेखि असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
मौसम प्रणालीको प्रभावका कारण विशेषगरी गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, कोशी प्रदेशको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमती प्रदेशका पहाडी क्षेत्र, कर्णाली प्रदेशको जुम्ला आसपास तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको हो।
वर्षाका कारण ती क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोध हुन सक्ने जोखिम रहेको भन्दै विभागले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्न तथा सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

