नुवाकोट । भदौ १० गते आएको बाढीका कारण त्रिशूली नदीमा रहेका अधिकांश पुल बगेपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ। बाढीले सडक तथा पुल संरचनामा क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन नेपाली सेनाले वैकल्पिक पुल निर्माणको काम तीव्र बनाएको छ।
विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजले एक्रो ब्रिज निर्माण गरिरहेको छ। बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण रोकिएको आवतजावत पुनःस्थापित गर्ने उद्देश्यले सेनाले उक्त पुल निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको हो।
निर्माणाधीन एक्रो ब्रिज ६० मिटर लामो, ५.५ मिटर चौडा र ५० टनसम्म भारवहन क्षमता भएको नेपाली सेनाले जनाएको छ। पुल निर्माण सम्पन्न भएपछि देवीघाटसहित आसपासका क्षेत्रमा यातायात सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ।

