काठमाडौं ।
नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार तथा नरक चतुर्दशी मनाइँदैछ। यस अवसरमा घरघरमा सुरक्षा गर्ने कुकुरलाई फूलमाला लगाएर, टीका तथा पूजा आराधना गरी मीठा परिकार खान दिएर सम्मान गरिँदैछ।
यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने कुकुर तिहार यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी तिथि परेको दिन मनाउने परम्परा छ।
धार्मिक मान्यताअनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिएमा यमराजको ढोकामा द्वारपालका रूपमा रहने श्याम र सबल नामका कुकुरले यमलोक जाने बाटो सहज बनाइदिने विश्वास छ। धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक प्रसङ्गसँग पनि यस पर्वको सम्बन्ध रहेको छ।
कुकुरलाई आज्ञापालक, बफादार तथा सुरक्षाका दृष्टिले भरपर्दो जनावरका रूपमा लिइन्छ। घरको सुरक्षा गर्नुका साथै मानिसको असल साथीका रूपमा रहने कुकुरप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले यो पर्व मनाउने गरिन्छ।
नरक चतुर्दशीको धार्मिक महत्त्व
आज बिहान अरुणोदयकालमा नदी, तलाउ तथा विभिन्न तीर्थस्थलमा स्नान र तर्पण गरी दक्षिण दिशातर्फ फर्काएर यमदीप बालेर बगाउने धार्मिक प्रचलन छ। यसरी दीप बगाउँदा मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभएको छ। यस विधिलाई ‘नरके बगाउने’ भनिन्छ।
यमपञ्चकका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने परम्परा पनि छ। आयुर्वेदिक मान्यताअनुसार यसले शरीरलाई स्वस्थ राख्न सहयोग पुर्याउने विश्वास गरिन्छ।
यसरी तिहारले धार्मिक आस्था, प्रकृतिप्रतिको सम्मान, जीवजन्तुप्रतिको माया र मानवीय संवेदनाको सन्देश दिँदै आएको छ।
Previous Articleधन्वन्तरि परम्परामा चिकित्सा र मानवसेवा
Next Article तिहारको शुभकामना

