काठमाडौँ ।
कालिगढ तथा श्रमिकहरूले आज भगवान् विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाउँदैछन्। प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्ने परम्परा रहिआएको छ।
यस अवसरमा विभिन्न कलकारखाना तथा उद्योगमा भगवान् विश्वकर्माको तस्बिर राखेर विधिपूर्वक पूजाआराधना गरिन्छ। कलकारखानालाई विशेष रूपमा सजाएर श्रमिक तथा कालिगढहरूले विश्वकर्मा पर्व मनाउने गरेका छन्।
विश्वकर्मा पूजाका दिन कालिगढहरूले दैनिक काममा प्रयोग गर्ने औजार तथा उपकरणको समेत पूजा गर्ने गर्छन्। धार्मिक विश्वासअनुसार यसरी औजारको पूजा गरेमा ती लामो समयसम्म टिक्ने, कामका क्रममा नबिग्रने तथा राम्रो र सफल काम गर्न सकिने मान्यता छ।
पूजापछि बालुवा तथा अन्य सामग्रीबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मतीको मुहानस्थल सुन्दरीजललगायत शुद्ध स्थलमा लगेर विसर्जन गर्ने परम्परा पनि रहेको छ।
धार्मिक मान्यताअनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी कृष्णलाई सुरक्षित राखेका थिए। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेको विश्वासका आधारमा विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानिँदै आएको प्रा. तोयराज नेपाल बताउँछन्।
सोही धार्मिक विश्वास र परम्पराका आधारमा वास्तु तथा निर्माणका देवताका रूपमा विश्वकर्माको पूजा गर्ने चलन प्राचीनकालदेखि चलिआएको मानिन्छ।

