– प्रकाशचन्द्र खतिवडा
सपना मात्रै बगेनन्,
बग्यो मानव सभ्यताको इतिहास।
भग्नावशेषले किचिएर
एउटा बालक जीवनको सहारा खोजिरहेको छ,
र खोजिरहेको छ आफ्नी आमा।१।
मातृत्व बग्यो,
पितृत्व बग्यो।
आमाले छोरा गुमाइन्,
छोराले आमा गुमायो।
पत्नीले पति गुमाइन्,
पतिले पत्नी गुमायो।
गुमाउनुको पीडा अभिव्यक्त गरूँ कसरी?
खण्डहर बस्तीको निर्जन कथा लेखूँ कसरी?।२।
हिजोसम्म सडकमा नानीहरू नाचिरहेका थिए,
वृद्धवृद्धा हाँसिरहेका थिए।
आज हिमालका टुक्रा उछिट्टिएर
नदीको बहाव थुन्दै
विशाल ताल बनायो।
भूकम्पले धरती हल्लाएझैँ
ताल विस्फोट भयो।
भोटेकोशी बौलायो,
उडायो नानीहरूको सपना,
उडायो वृद्धवृद्धाको हाँसो।३।
नानीहरू पाठशाला पुग्दा नपुग्दै,
कर्मचारीहरू कार्यालय पुग्दा नपुग्दै,
व्यापारीहरू सटर खोल्दा नखोल्दै,
आमाहरू जुठा भाँडा गर्दा नगर्दै,
तीर्थयात्रीहरू तीर्थ पुग्दा नपुग्दै—
कालले घुम्टो ओढायो,
चुँड्यो जीवन,
चुँड्यो मानवता।४।
खुल्न सकेन दिन,
सूर्य रोइरह्यो।
हुच्चिलहरू एकोहोरो कराइरहे,
रातको चन्द्रमासमेत
विक्षिप्त देखियो।
सन्नाटा र भावुक थियो समय,
मानव आर्तनाद हृदयविदारक थियो।५।
बचाउको आवाज क्षितिजसम्मै पुग्यो,
बचेन जिन्दगी,
जिन्दगीसँगै बगे
भविष्यका सपनाहरू पनि।
पुल बगे,
सडक बगे,
गाउँ बगे,
शहर बगे,
खेत बगे,
घर–गोठ बगे,
मन्दिर–दरबार बगे,
र सँगसँगै बगे
मानवताका बाँकी अवशेषहरू।६।
मैले दुःख व्यक्त गर्न सकेँ,
श्रद्धाञ्जली र समवेदना भन्न सकेँ।
सकिनँ चहराइरहेको घाउमा मलहम लगाउन,
सकिनँ नदीबाट दिइएका हातहरू समाउन,
सकिनँ आवाज आएकै ठाउँमा सुरुङ फुटाउन।
म नै अधैर्य बनेको छु,
मलाई दुःखिरहेको छ
भोटेकोशीको ताण्डवता।
र दुःखिरहेको छ—
नानीहरूको अबोध जीवन।७।

